सप्तरीबाट सिरहा जिल्लामा रुपान्तरण भएपछि सदरमुकामको रुपमा सिरहालाई राखियो । हुलाकी सडकखण्डमा पर्ने र भारतीय सीमासँग पनि नजिकै रहेकोले पनि सिरहा सदरमुकामको रुपमा विकसित हुन पुग्यो । जहाँ जिल्लाका मुख्य प्रशासनिक ईकाइ रह्न सक्यो ।
सदरमुकामको रुपमा सिरहा विकसित हुँदै गर्दा अहिले पनि सुरक्षा मुख्य चासोको विषय रहेको छ । सिरहाको सुरक्षा व्यवस्था कस्तो भन्ने भेउ पाउन रातको ९ बजे सडक छेउमा उभिनु पर्छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेनाको टुकडी, जिल्ला प्रशासन, अदालत, मालपोत, नापी, नगरपालिका, कृषि, पशुसँग सम्बन्धित दर्जनवढी कार्यालय रहेको सिरहा सदरमुकाम असुरक्षित हो भन्ने संकेत प्रहरीले नै गर्दै आएको छ ।
करिब दुई किलोमीटरसम्म फैलिएको सिरहा बजारमा सुरक्षा छैन भन्ने नेपाल प्रहरीको टोलीले नै स्पष्ट तरिकाले संकेत दिने गरेको छ । महावीर चौकमा वडा प्रहरी र सहिद राजेश ठाकुर पार्क (थाना चौक) मा जिल्ला प्रहरी कार्यालय रहेको छ । रातको ९ बज्नासाथ वडा प्रहरी कार्यालयबाट प्रहरी भ्यान निस्किन्छ । भ्यानमा वडा प्रहरी कार्यालयका इन्चार्ज (सैय) सवार हुन्छ । उनीसँग दलबल पनि हुन्छ । त्यसपछि गाडी सदरमुकाम सिरहाको दक्षिणी क्षेत्र (गोरियारी) देखि उत्तरतर्फ बढ्छ । आकस्मिक रुपमा आवश्यक परेको बेला बजाउने साईरन बजाउँदै प्रहरी भ्यान सिरहा सदरमुकामको उत्तरतर्फमा रहेको पसलहरु बन्द गराउन कुद्छ ।
यसो विचार गर्दा, प्रहरीले ठिकै गरेको जस्तो लाग्छ । खासमा यो ठिक होइन् । सदरमुकामको सुरक्षा व्यवस्थापन गर्न कठिन हुन्छ भन्ने भेउ दिन खोजेको छ । जसले गर्दा ९ बज्नासाथ सदरमुकाम सिरहाको पसल, व्यापार, व्यवसाय गर्नुपर्ने प्रहरीको साईरनले उर्दी जारी गर्छ ।
प्रहरीले शान्ति सुरक्षा दिन नसक्ने जनाउ दिने गरी साईरन बजाउँदै खुलेका पसलहरु बन्द गराउनु मननीय हो । त्यही शान्ति सुरक्षाको प्रत्याभूति नपाएर प्रादेशिक अस्पताल सिरहा अगाडी रहेका आधा दर्जन औषधी पसलहरु १० नबज्दै बन्द हुन्छ । आवश्यक परेका बेला नत औषधी पसल खुलेको भेटिन्छ, नत कोहि बाहिरबाट आएकाहरुलाई सहज रुपमा खाना र बस्न होटल नै खुला रहेको पाईदैन् ।
प्रहरीको यो रवैयाले सिरहा सदरमुकामको व्यापार व्यवसायमा असर गरेको छ, अर्कोतिर सदरमुकाम असुरक्षित छ भन्ने प्रष्ट संकेत गरेको छ । जहाँ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु नै बस्ने भएपछि आखिर शान्ति सुरक्षा दिन किन सकिएन ? पसलहरु ९ बज्नासाथ बन्द गराउनु पर्ने अवस्था किन रहेको छ ? यसको जवाफ जिल्ला प्रहरी कार्यालय सिरहाले दिनै पर्छ । पसल, व्यापार बन्द भएपछि साँझमा बजारमा घुम्न आउने वा चर्को गर्मीका कारण दिनमा बाहिर निस्किन नसक्ने स्थानीयलाई सास्ती पनि भईरहेको छ । सिरहा बजारको व्यापार, व्यवसाय, होटल व्यवसाय, औषधी पसलहरु सहज रुपमा रातीको समयमा पनि खुला रह्ने गरी वातावरण बनाउन प्रहरीले शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । शान्ति सुरक्षा नै दिन नसक्ने र पन्छिने कुनैपनि अवस्थामा मान्य हुन सक्दैन् ।
सिरहाको व्यापार, व्यवसायको संरक्षण गर्ने संस्थाको रुपमा रहेको सिरहा उद्योग वाणिज्य संघले पनि प्रहरीको यस्तो रवैयाको विरोधमा उत्रिनु पर्छ । बजारको शान्ति सुरक्षा कायम राख्ने प्रहरीको दायित्व भएको र शान्ति सुरक्षा कायम राख्नुपर्छ । शान्ति सुरक्षाको प्रत्याभूति दिन नसक्ने गरी समसाँझै पसल, व्यापारहरु बन्द गराउनु कुनैपनि हिसाबमा शोभनीय छैन् । यसतर्फ प्रहरी नेतृत्वको ध्यान पुग्नुपर्छ र प्रहरीको यस शान्ति सुरक्षा कायम गर्न नसक्ने र पन्छिने शैलीको अन्त गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय