चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ ।
मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।

तत्कालीन समयमा शालिकको अनावरण नाट्यसम्राट बालकृष्ण समले गरेको वरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिए । उनले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रङरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताए । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फिट गहिरो स्थानमा रहन पुगेको छ ।
भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिए । “सडकको स्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उनले भने, “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।”
उनले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गरे । उनका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिकाभरिका साहित्यानुरागी, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताए ।
उनले चालु आर्थिक बर्ष २०७८÷७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताए । उनले शालिक बनाउँदा सो सडकको नाम मेची राजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिए ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरूको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र संवद्र्धनमा नगरपालिकाले पहल गर्ने बताए ।
शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थान्तरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इञ्जीनियर प्रमोद खतिवडाको भनाइ छ । उनले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गरे। रासस



