सिरहा । आगामी संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी जारी रहेको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा महिला र दलित समुदायलाई केन्द्रित गर्नुपर्ने माग उठेको छ ।
दलित सरोकार मञ्च नेपालले सिरहा सदरमुकाममा मंगलवार आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले महिला र दलित समुदायलाई विशेष प्राथमिकतामा राखेर मतदाता नामावली संकलन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सवैभन्दा पछाडी पारिएको दलित समुदायसँगै महिलाको मतदाता अधिकारबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
मतदाता नामावलीमा महिला, दलित लगायतका सीमान्तकृत समुदायको पहुँच सुनिश्चितताका लागि जिल्ला स्थित सरोकारवाला विषयक अन्तरक्रियामा सहभागी विभिन्न क्षेत्रका सरोकारवालाहरुले नागरिकता, सहज पहुँच र जनचेतना अभावमा महिला र दलित समुदाय मताधिकारवाट बञ्चित हुँदै आएको सहभागीहरुको भनाई रहेको छ । सिरहा पुस्तकालयका अध्यक्ष अरुण कुमार पासमान, पत्रकार अनिरुद्ध ठाकुर, नेकपा माओवादीवाट सिरहा नगरपालिकामा उपप्रमुखका उम्मेदवार रेखा महरा, शिक्षक विजय केपी लगायतले मतदाता नामावली संकलन गर्दा दलित समुदाय रहेको क्षेत्रमा टोली खटाउनु पर्ने धारणा व्यक्त गरेका थए । जिल्ला निर्वाचन कार्यालय सिरहाले सिरहाको १७ वटै पालिकामा विशेषतः पहुँचभन्दा टाढा रहेका महिला, दलित र सीमान्तकृत समुदायलाई लक्षित गरी फोटो सहितको मतदाता नामावली संकलन गर्नुपर्ने सिरहा पुस्तकालयका अध्यक्ष पासमानले बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले राजनीतिक दलहरुले मतदाता नामावली संकलनमा जनचेतना जगाउनु पर्ने बताएकी छिन् । ‘अहिलेपनि दैनिक एक सय वढीको मतदाता नामावली संकलन भईरहेको छ,’अधिकृत यादवले भनिन्,‘अगामी निर्वाचनलाई लिएर असार मसान्तसम्मको समय रहेको छ । दलहरुले गाउँगाउँमा जनचेतना जगाएर सहयोग गर्नुपर्छ ।’
सिरहा जिल्लामा ४ लाख १४ हजार १६६ जम्मा मतदातामध्ये १ लाख ९४ हजार ६ सय महिला, २ लाख १९ हजार ५६४ पुरुष र १ फरक क्षमता भएका रहेको प्रमुख यादवले बताईन् ।
मतदाता नामावली दलहरुसँग जोडिएको विषय भएकोले जिल्लाका राजनीतिक दलले पनि सहयोग र समन्वय गर्नुपर्ने भन्दै प्रमुख यादवले उपलब्ध जनशक्तिले दैनिक फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको बताएकी छिन् ।
दलित सरोकार मञ्च नेपालका अध्यक्ष भोला पासमानले दलित, महिला र सीमान्तकृतको मतदाता नामावली संकलनमा सहज पहुँच पुगोस् भन्दै जिल्ला जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिरहेको बताएका छन् ।



