सिरहा । सिरहा जिल्ला खुला सीमा भएको जिल्ला छ । खुला सीमा भएकोले सिरहा जिल्लामा प्रहरी प्रशासनकै संलग्नतामा तस्करी फस्टाउने गरेको छ । हात्तीको देखाउने दाँत र खाने दाँत फरक फरक हुन्छ, त्यसैगरी सिमा क्षेत्रका खटिएका सशस्त्र प्रहरी बल र त्यससँगै बोर्डर क्षेत्रदेखि ग्रामीण र सहरक्षेत्रमा रहेका नेपाल प्रहरीका युनिटहरुले तस्करसँगको साँटघाटका कारण राजश्व असुली नै घटेको छ ।

प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको सवैभन्दा बलियो प्रमाण सिरहा भन्सार कार्यालय माडरले राजश्व असुली गरेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (जेठ मसान्त) सम्म सिरहा भन्सार कार्यालय माडरले लक्ष्यको ४५ प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ । कार्यालयले चालू आर्थिक वर्षको कुनैपनि महिना लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन् । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात श्रावणमा सवैभन्दा वढी ७० प्रतिशत राजश्व असुली गरेको थियो । उक्त महिनामा कार्यालयलाई १ करोड ३९ लाख ४० हजार राजश्व असुली गर्ने लक्ष्य दिईएको थियो । जसमध्ये कार्यालयले ९७ लाख ३३ हजार रुपैयाँ मात्र असुली गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को श्रावण महिनामा सिरहा भन्सार कार्यालय माडरले लक्ष्यको २३९ प्रतिशत अर्थात १ करोड १२ लाख ६३ हजार लक्ष्य दिएकोमा २ करोड ६८ लाख ९० हजार राजश्व असुली गरेको थियो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को भाद्रमा ४० प्रतिशत, असोजमा ५५ प्रतिशत, कार्तिकमा ५० प्रतिशत, मंसिरमा ५९ प्रतिशत, पुसमा ५७ प्रतिशत, माघमा ५२ प्रतिशत, फाल्गुनमा ४५ प्रतिशत, चैतमा सवैभन्दा न्यून २९ प्रतिशत, वैशाखमा ३५ प्रतिशत र जेठमा ५५ प्रतिशत राजश्व असुली गरेको कार्यालयको तथ्यांकमा जनाईएको छ ।
चालू आर्थिक वर्षमा सिरहा भन्सार कार्यालय माडरलाई २३ करोड ५९ लाख ६८ हजार राजश्व असुली गर्ने लक्ष्य दिएपनि ११ महिनामा ४५ प्रतिशत अर्थात १० करोड ५७ लाख ३७ रुपैयाँ मात्र असुली गर्न सकेको छ ।

तस्करीका समान बजारमा छ्यापछ्याप्ती
राजश्व असुली लक्ष्यको आधाभन्दा कम भएपनि सिरहा जिल्लाको मुख्य बजारक्षेत्रमा भारतबाट तस्करी गरी ल्याएको समानहरु छ्याप्छ्याप्ती पाउने गरेको छ । सुर्तीजन्य, गुटखाहरु सिरहाको ग्रामीणदेखि बजारक्षेत्रका पसलहरुमा ठूलो मात्रामा पाईन्छ । जसको कुनै राजश्व भन्सार र आन्तरीक राजश्व कार्यालयले संकलन गरेको छैन् ।
सिरहा, मिर्चैया, गोलबजार, लहान लगायतका मुख्य बजार क्षेत्र लत्ताकपडा, स्पेयरपार्टस्, इलेक्ट्रोनिक्स, खाद्यन्न ठूलो मात्रामा पाईन्छ । तस्करीका समान भएपछि व्यवसायीहरुले उपभोक्तालाई बील पनि उपलब्ध गराउँदैन् ।

सीमादेखि भित्री क्षेत्रका प्रहरीको सेटिङ
तस्करी फस्टाउनुमा सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलदेखि नेपाल प्रहरीका जिल्ला स्तिथ युनिटहरुको संलग्नता रहेको पाईन्छ । यसमा प्रहरीकै स्कर्टिङमा पनि तस्करीमा समान गन्तव्यसम्म पुर्याउने काम हुन्छ । नाम उल्लेख नगर्ने शर्तमा तस्करी पेशमा आबद्ध एक जनाले मासिक रुपमा सशस्त्र र नेपाल प्रहरीलाई रकम बुझाउनु परेको दावी गरेका छन् ।
सिरहा भन्सार कार्यालय माडरले अनुसार आफूहरुसँग प्रयाप्त जनशक्ति र हातहतियार नभएकोले तस्करी रोक्न सम्भव नरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय