सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले चालू आर्थिक वर्षको जेठ महिनासम्म पौने तीन करोड जरिवाना काटेर राजश्व असुली गरेको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्ममा कार्यालयले २ करोड ७७ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ । जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारी साधन चलाईएको फेला परेपछि जरिवाना गरेर राजश्व असुली गरेको हो । राजश्व असुली नीजि र सार्वजनिक सवारीसाधनबाट मात्र रहेको छ ।
कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ३७ हजार ३५० सवारी साधनलाई कारबाही गरिएको छ । ट्रक/ट्याक्टर १० हजार ४, बस/मिनि बस ३ हजार ४९०, कार/जिप ७ हजार ३३, ट्रयाक्टर १ हजार ६०, मोटरसाईकल १२ हजार ८५६, टेम्पो २ सय ३९ वटा कारबाहीमा परेको छ ।
त्यस क्रममा ट्राफिक प्रहरीले माफसे सेवन गरेका १ सय ६० जनालाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय लहान, सिरहा, बन्दिपुर, मिर्चैया, गोलबजार, धनगढी, विष्णुपुर लगायतका जिल्लाभरी रहेका ट्राफिक प्रहरी कार्यालयहरुले नीजि र सार्वजनिक यातायातलाई ट्राफिक नियम विपरीत चलाएको आरोपमा कारबाही गरेको छ ।
कानून विपरीत जिल्लाभर सरकारी कार्यालयका सवारीसाधन पटक पटक सञ्चालनमा देखिएपनि ट्राफिक प्रहरीले एउटा पनि कारबाहीको दायरामा ल्याउन सकेको छैन् । शनिवार र अन्य सार्वजनिक विदाका दिन सरकारी कार्यालयको चरम दुरुपयोग भईरहँदा पनि जिल्लाभरीका ट्राफिक प्रहरी मुकर्दशक मात्र रहेको छ । जिल्लाभरीमा सरकारी सवारीसाधनको चरम दुरुपयोग भईरहँदा कार्यवाही नगर्नुले ट्राफिक प्रहरी आफ्नो जिम्मेवारीबाट पन्छिएको जानकारहरु बताउँछन् । नीजि, सार्वजनिक र सरकारी सवारीसाधनलाई नियम विपरीत पाएपछि कारबाहीको दायरामा ल्याउनु पर्ने अधिकारकर्मी ओम प्रकाश साहको भनाई छ ।

नीजि विद्यालयको बसमा विद्यार्थी कोचाकोच, ट्राफिक प्रहरी रकम असुल्दै
जिल्लाभरीमा विभिन्न संस्थागत (नीजि) विद्यालयको बसहरुमा बालबालिका खचाखच राखिएको हुन्छ । ट्राफिक नियम विपरीत बसहरुमा बालबालिका राख्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्न सकेको छैन् । ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्दै गरेकोले नीजि विद्यालयको बसमा बालबालिकालाई उभिएर यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन् । सिरहादेखि मिर्चैया, चोहर्वा पुग्ने बसहरु, लहानबाट मिर्चैया चोहर्वा पुग्ने नीजि विद्यालयका बसहरुमा बालबालिका सिट क्षमताभन्दा वढी राख्ने गरेको पाईन्छ ।
यसबारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक दीपेन्द्र श्रेष्ठले सरकारी कार्यालयको सवारीसाधनबाट राजश्व असुली नभएको स्वीकार गरेका छन् । आफू केही दिन अघि मात्र सिरहा आईपुगेको भन्दै प्रहरी निरिक्षक श्रेष्ठले अहिलेसम्म रेकर्डमा सरकारी सवारीसाधन कारबाहीको उल्लेख नभएको बताए ।
नीजि विद्यालयबाट रकम असुली गरेको कुरा आफूलाई गुनासो नआएको भन्दै प्रहरी निरिक्षक श्रेष्ठले त्यस्तो गुनासो आएमा कारबाही गर्ने बताएका छन् ।



