सिरहा । धानवाली रोपाईको समय भएको भन्दै मलखाद्यको सहज आपूर्ति सरकारले नगरेमा आन्दोलनमा उत्रिने नेकपा एमाले सिरहाले चेतावनी दिएको छ ।
जिल्ला समन्वय समितिमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जिल्ला कार्य समिति सिरहाले विभिन्न ६ सूत्रीय माग अगाडी सारेको छ ।
खेतीपातको समयमा किसानलाई मलखाद्यको वर्षेनी हाहाकार र रास्ती भोग्नुपर्ने बाध्यता रहेकोले त्यसलाई तत्काल सामाधान गर्न जिल्ला प्रशासन कार्यालय सिरहा माफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । कृषिमा निर्भर रहेको सिरहा जिल्लाका किसानलाई समयमा मलखाद्य नपाउँदा उब्जनीमा ह्रास हुने गरेको भन्दै तत्काल मलखाद्यको व्यवस्था गर्न सरकारसँग नेकपा एमाले सिरहाले माग गरेको छ ।

नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डल हस्ताक्षर गरेको ज्ञापन पत्रमा किसानलाई समयमै मलखाद्यको व्यवस्था गर्नुपर्ने, जिल्लामा व्याप्त रहेको कालोबजारी, घुसखोरी, तस्करी नियन्त्रण गर्नुपर्ने, झुठ्ठा मुद्दामा नागरिकलाई फसाउने काम रोक्नुपर्ने, लागूऔषधको ओसारपोसार बन्द गर्नुपर्ने, अर्धन्यायिक कार्यालयमा रहेको पूराना मुद्दाहरुको अविलम्ब फैसला गर्नुपर्ने र खानी उत्खनन गर्दा मापदण्डको पलाना गराउनु पर्ने माग अगाडी सारिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले सिरहा जिल्ला उपाध्यक्ष एवं सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सवैभन्दा वढी किसानलाई पिरमार्का परेको र सरकारले कानमा तेल राखेको सुतेको आरोप लगाएका छन् । वर्षेनी किसानलाई चाहिने मलखाद्यको व्यवस्था नगरी किसानलाई सरकारले यातना दिदै आएको मेयर डा यादवको भनाई रहेको छ ।
आफूहरुले जिल्लाका नागरिकको हितमा हुनेगरी जनपक्षीय माग सहित सरकारलाई यथास्रिघ पूरा गर्न ज्ञापन पत्र बुझाएको भन्दै उपाध्यक्ष डा यादवले किसान, युवा र आम जिल्लावासीको मागलाई सम्बोधन गर्न सरकारले वेवास्ता गरेमा आन्दोनलका कडा स्वरुप सार्वजनिक गरी आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन् । सीमा सुरक्षाको जिम्मेवारी संघीय सरकारको मातहतमा रहेको भन्दै उपाध्यक्ष डा यादवले सरकारले मलखाद्य किसानलाई पुर्याउन नसकेको अहिलेको अवस्थामा छिमेकी मुलुकबाट मलखाद्य ल्याउँदा प्रताडित हुनुपर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् । ‘एक÷दुई बोरामा खेतमा दिन मलखाद्य ल्याउँदा प्रहरीको धाकधम्की, डरत्रासमुक्त हुने वातावरण हुुनुपर्छ,’उपाध्यक्ष डा यादवले भने,‘किसानलाई राहत मिल्नुपर्ने ठाउँमा यातना दिने काम भईरहेको छ । यो तत्काल रोक्नुपर्छ ।’

यस्तै अध्यक्ष मण्डलले सार्वजनिक कार्यालयहरुमा देखा परेको ढिलासुस्ती बन्द हुनुपर्ने, नागरिकले सहज रुपमा सेवा पाउनु पर्ने बताएका छन् । आफूहरुको सवै माग सिरहा जिल्लाका नागरिकको हितमा रहेकोले तत्काल पूरा गराउन स्थानीय प्रशासनले विभागीय मन्त्रालयहरु पनि ध्यानाकषर्ण गराउनु पर्ने बताएका छन् । विना कसुर एउटै व्यक्तिले धेरै मुद्दा खेप्नुपर्ने अवस्था प्रहरी प्रशासनबाट रहेकोले त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने अध्यक्ष मण्डलको माग रहेको छ । राजनीतिक आड्मा फसाउने प्रपञ्च रह्ने र त्यसमा प्रहरी प्रशासनको मिलिभगतले समस्या विकराल बन्दै गएको भन्दै अध्यक्ष यादवले एउटै व्यक्तिलाई विना कसुर अनेक मुद्दामा फसाउने काम कुनैपनि हालतमा आफूहरुलाई मान्य नहुने बताएका छन् ।
मालपोत, भूमिसुधार, वन कार्यालय, भन्सार कार्यालयहरुमा वर्षौदेखि मुद्दाहरु फैसला नगर्दा थन्किएको भन्दै त्यस कार्यालयहरुमा वर्षौदेखिको मुद्दाहरु छिटोछिटो छिनोफानो गर्नुपर्ने अध्यक्ष मण्डलको भनाई रहेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष मण्डलले सिरहाको चुरे (राजमार्गदेखि उत्तरी) क्षेत्रका विभिन्न वस्तीबाट अवैध रुपमा र मापदण्ड विपरीत भईरहेको खानीजन्य उत्खनन्लाई नियमन गर्न जोड दिनुपर्ने बताएका छन् । स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, पत्रकारहरुको सहभागितामा उत्खनन् भईरहेको स्थानको अनुमगन निगरानी गर्नुपर्ने भन्दै मापदण्ड विपरीतको कार्यलाई रोक्न र कारबाही गर्नु आवश्यक भएको अध्यक्ष मण्डलले बताएका छन् ।
पत्रकार सम्मेलनमा पूर्व संविधानसभा सदस्य आशा यादव, जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार लामा, गोलबजार नगरपालिकका मेयर श्याम श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य गिता पासमान लगायत नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय