काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँणबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा संघीय संसदको चालु अधिवेशनमै नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो’ उनले भने, ‘कुराकानी सकारात्मक भएको छ ।’

एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँगै सो पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए ।

नागरिकता विधेयकको विषय लिएर गृहमन्त्री खाँणले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!