कोकिला भण्डारी
धनकुटा। कोशी प्रदेशमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम सुरु गरिएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरानको सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–स्थित नाम्जे थुम्कीमा बुधबार तालिम उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारी सूचनालाई सीमित माध्यममा मात्र प्रकाशन गर्ने निर्णय सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै मन्त्रालयबाट सम्पन्न हुन बाँकी कामहरूको लागत संकलन भइरहेको जानकारी दिनुभयो।
मन्त्री पराजुलीले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यसको प्रभावकारी प्रचार–प्रसारमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने बताउनुभयो। पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश सरकार र सञ्चार माध्यमबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
उहाँले धनकुटास्थित नाम्जे, थुम्की, राजारानी, नमस्ते झर्ना र स्काईवाक जस्ता पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। स्थानीय प्राकृतिक सम्पदा, संस्कृति र ग्रामीण पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पत्रकारिताले महत्वपूर्ण योगदान दिन सक्ने उहाँले उल्लेख गर्नुभयो।
भरत खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशका ९ जिल्लाबाट आएका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको हिमा चेम्जुङले जानकारी दिनुभयो। तालिममार्फत पत्रकारहरूलाई पर्यटनको सम्भावना, प्रवर्द्धनका उपाय तथा पर्यटनमैत्री समाचार लेखनबारे अभिमुखीकरण गरिने आयोजकले जनाएको छ।
तालिममा सहभागीहरूलाई पर्यटन पत्रकारिताको अवधारणा, पर्यटकीय गन्तव्यको खोजी, स्थानीय गन्तव्यको ब्रान्डिङ तथा प्रभावकारी प्रचार–प्रसारका विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ। प्रदेशभरका पर्यटकीय गन्तव्यलाई उजागर गर्दै पर्यटन क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दाली राई तथा पर्यटन कार्यालय धरानका प्रमुख भिषम राईलगायतको उपस्थिति रहेको थियो।




