सिरहा । सिरहा नगरपालिकामा कर्मचारीमाथि कुटपिट भएको भनिएको घटनाले राजनीतिक तहसम्म तरंग पैदा गरेको छ । उक्त घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
नेकपा जिल्ला सिरहाका केन्द्रिय सदस्य प्रमोद कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नगर प्रमुखबाट कर्मचारीमाथि भएको भनिएको कुटपिटको घटनालाई “निन्दनीय र चिन्ताजनक” भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न जोड दिइएको छ । पार्टीले घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्न र पीडित कर्मचारीलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्ता व्यवहार हुनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै स्थानीय तहमा सुशासन कायम गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिइएको छ । साथै, कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेकपाले हाल जारी कर्मचारी आन्दोलनप्रति समेत ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि वार्ता र संवादको माध्यम अपनाउन आग्रह गरेको छ । “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरिए यस्ता प्रवृत्तिले संस्थागत सुशासनमै असर पार्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।
सिरहा नगरपालिकामा देखिएको यो विवादले स्थानीय शासन, कर्मचारी–जनप्रतिनिधि सम्बन्ध र प्रशासनिक उत्तरदायित्वका विषयमा गम्भीर बहस सुरु गराएको छ । सरोकारवालाहरूले घटनाको छानबिन पारदर्शी ढंगले अघि बढाउन र दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय