अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे नयाँ दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एनबीएस न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले इरानले आफूसँग सम्पर्क गरेर सम्झौता गर्न चाहेको बताए । तर प्रस्तावित सर्तहरू “अझै राम्रो नभएको” उनको दाबी छ ।

तर इरानी सरकारले भने यस्तो दाबी पुष्टि गरेको छैन । अहिले पनि अमेरिका र इरानबिच आक्रमण–प्रतिआक्रमण जारी रहेको छ, जसले दुवै पक्षले सैन्य तथा कूटनीतिक दबाबमार्फत आफ्नो पक्ष बलियो बनाउन खोजिरहेको संकेत गर्छ ।

ट्रम्पका अनुसार कुनै पनि सम्भावित सम्झौताका लागि इरानले आफ्नो आणविक कार्यक्रम त्याग्नुपर्ने सर्त रहनेछ । उनले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाबारे समेत प्रश्न उठाए । नयाँ सर्वोच्च नेता सार्वजनिक रूपमा नदेखिएको र बयान पनि उनले आफैँ पढेको जस्तो नदेखिएको कारण उनी जीवित छन् कि छैनन् भन्नेमा समेत आफूलाई शंका लागेको ट्रम्पले भनेका छन् ।

सैन्य पक्षबारे ट्रम्पले दाबी गर्दै अमेरिकी सेनाले इरानको मिसाइल र ड्रोन उत्पादन क्षमतामा ठुलो क्षति पुर्‍याएको बताए । उनका अनुसार केही दिनभित्रै इरानको यस्तो उत्पादन क्षमता “लगभग नष्ट हुने” अवस्थामा पुग्नेछ ।

यसअघि उनले हर्मुज जलडमरु क्षेत्रमा इरानको नौसैनिक शक्ति कमजोर बनाइएको दाबी पनि गरेका थिए । यद्यपि नौसेना कमजोर भए पनि इरानले अझै मिसाइल र ड्रोन आक्रमण गर्न सक्ने क्षमता राखेको कुरा उनले स्वीकार गरेका छैनन् । अहिले अमेरिकाको मुख्य रणनीति इरानले प्रयोग गरिरहेका मिसाइल र ड्रोन उत्पादन गर्ने कारखानाहरूलाई लक्षित गर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय