१ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा रहेको ऐतिहासिक थान पोखरी र यससँगैको सन्दासी बाबा मन्दिर संरक्षण अभावमा जीर्ण बनेको छ । वि.सं. १८२५ मा निर्मित र धार्मिक पोखरीको रुपमा परिचित यो देवस्थल आदिवासी थारू जातिको आस्था र विश्वासको धरोहर हो ।
अनिकाल, महामारी, रोग व्याधी, निःसन्तान, ठूला घाउ खटिरा आएमा वा आफूलाई कुनै संकट पर्दा हुँदा भाकल गर्ने र मनकामना सिद्ध भएपछि भाकल पूरा गर्नेहरुको वैशाख १ गते यहाँ लर्को लाग्छ । प्रत्येक वर्ष वैशाख १ गते यो स्थानमा उदयपुर, सिराहा, सप्तरी, सुनसरी र भारतबाट समेत मानिसहरु तीर्थाटनका लागि पुग्ने गर्दछन् ।

सन्तानको पीडामा रहेका राजाराम माइझ थारुका सन्तान कन्की माइझ थारुले सन्तान प्राप्त भएपछि मन्दिर निर्माणको एक सय वर्षपछि पुनर्निर्माण वि.सं १९८१ मा गरेको थानपोखरीका संरक्षकसमेत रहेका देव नारायण चौधरी बताउँछन् । उनी भन्छन्, ‘मेरो हजुरबुवाको पनि हजुरबुवा राजाराम थारूले वि.सं.१८२५मा बस्ती बसाउन खोरिया फाँड्दा देवस्थल भेटाउनुभयो र ढिस्को बनाएर पूजा गर्न थाल्नुभयो । पछि मेरो हजुरबुवा कन्की माइझ थारूले १९८१ मा सन्तान पाएपछि मन्दिरलाई पुनर्निर्माण गरेर पक्की बनाइदिनुभयो । त्यसपछि यहाँ मेला लाग्न सुरू भयो ।’
थान पोखरी मन्दिर सुरूमा बाँसबाट घेरिएको थियो । १९८१ पछि कन्की थारूको सन्तान सुखपछि ग्रामपञ्चायतका नायके कन्कीले भारतको दरभङ्गाबाट मिस्त्री र सिमेन्ट भारतबाट मगाएर पक्की मन्दिर बनाएको स्थानीय वृद्धा लटाइदास थारू बताउँछन् । उनी भन्छन्, ‘कन्की चौधरी ग्राम पञ्चायतको अगुवा भएकाले प्रगणा खान धेरै ठाउँमा पुग्थे । उनी प्रगणा खान विजयपुर, बरमझिया, दरभङ्गा घोडामै जान्थे र आउँथे । त्यहीक्रममा भारतबाट फर्केर आउँदा मिस्त्री र सिमेन्ट ल्याएर मन्दिर बनाए ।’
उनका अनुसार त्यतिबेला भारत दरभङ्गा निवासी मिस्त्री पाँचुदास विजयपुरमा भोज खान आएको र त्यहाँ चिनजान हुँदा उनलाई घोडामै चढाएर चौदण्डीगढी ल्याएका थिए कन्की थारूले । मिस्त्रीलाई घोडामै बसाएर ल्याए पनि उनीसँग मन्दिर बनाउने कुनै सामग्री नभएपछि पाँचुदासलाई दरभङ्गाबाटै सिमेन्ट मगाउन लगाएको स्थानीय लटाइदास चौधरी सुनाउँछन् । उनी भन्छन्, ‘हक्की स्वभावको कन्कीदास सन्तानको सुखप्राप्तिपछि मिस्त्रीलाई प्रगणाबाट उठाएर ल्याए र थान पोखरीको मन्दिर बनाउन लगाए । त्यसअघि ज्यामिरेमा बेल्हा गाउँका मानिसहरु पूजा गर्ने गर्दथे । किनकी त्यो ठाउँमा बेल्हा गाउँवासीहरुले पूजा गर्दै आएका थिए ।’ उनका अनुसार अहिले पनि थानपोखरीको मन्दिरमा वैशाख १ गते बेल्हा गाउँका बासिन्दाले पूजाआजा गर्छन् अनि बल्ल ज्यामिरे गाउँकाले फूलप्रसाद वा भाकलका प्रसाद चढाउँछन् ।
यही मन्दिरको नामबाट थानपोखरी उच्च मावि वि.सं २०१६ सालमा स्थापना भएको थियो ।
झण्डै १०० वर्षखेखि अनवरत मेला
वि.सं. १९८१ मा मन्दिर पुनर्निर्माण भएपछि थान पोखरीमा कन्की माइझ थारूले वैशाख १ गते सिरूवा मेला लगाउन सुरू गरेको देवनारायण चौधरी बताउँछन् ।
‘त्यसअघि पहिला प्रत्येक नयाँ वर्षमा पूजा मात्रै हुन्थ्यो । गाउँभरिका मानिसहरु जम्मा भएर देवस्थलमा पूजापाठ र मनोकांक्षा पूरा हुने शक्ति माग्थे,’ उनी भन्छन्, ‘उनीहरु हजुरबुवाले जस्तै सन्तान सुखको बरदान मागेर फर्कन्थे र सन्तान सुखपछि प्रत्येकसाल पूजा गर्न आउँथे । यहीक्रम चलिरह्यो र मन्दिरमा मेला लाग्न थाल्यो । योक्रम आजसम्म कायमै छ ।’
तर, थारु जातिको आस्था र विश्वासको ऐतिहासिक धरोहर थान पोखरी र देवस्थथल खण्डहरमा परिणत हुन लागेको छ । यसको जिर्णोद्धार, संरक्षण र सम्बर्द्धनको कतैबाट प्रयास र पहल नभएको स्थानीयको गुनासो छ । मन्दिरको पर्खालहरु जीर्ण भइसकेको र रडमा खिया लागिसकेको संक्षणकर्ता देवनारायण चौधरी बताउँछन् । उनी भन्छन्, ‘थान पोखरीको मुख्य मन्दिरको पर्खाल मक्किइसकेको छ । रडमा खिया लागिसकेको छ । भक्तजनहरु पूजा गर्न आउँदा धेरै भिड हुने भएकाले भत्किने डर हुन्छ ।’
मन्दिरको लागि बजेट नछुट्याएको गुनासो
करिब एक सय वर्षअघि जीर्णद्वार भएको मन्दिरको २०७२ सालमा नेपाल सरकारको शहरी विकास मन्त्रालयको सहयोगमा छत मात्रै जीर्णोद्वार भयो । तर पर्खाल र पर्खालका रडहरु खिया लागेर ढल्ने अवस्थामा रहेको संरक्षक चौधरी बताउँछन् । यसबारेमा स्थानीय सरकार चौदण्डी नगरपालिकामा पनि जीर्णोद्वारको लागि बजेट मागे पनि उल्टो बजेट कटौती भएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘थारूको ऐतिहासिक धरोहर भत्किनै लाग्दा पनि नगरपालिकामा बजेटको लागि निवेदन दिँदा पनि कसैले सुनेन । बरू वडाअध्यक्षको बदमासीले थान पोखरीको बजेट काटियो र अर्कै ठाउँमा खन्याइयो ।’



