गुड फ्राइडे सिनेमा

बम बिस्फोटमा परेर आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्यु हुन्छ। उनको अन्तिम इच्छा थियो- छोरा अर्जुन आफूपछि मुख्यमन्त्री बनून्।

बाबुले छाडेको पदमा गएर थपक्क बस्न अर्जुनका निम्ति सहज हुँदैन। उनी अमेरिकामा पढेर भर्खरै फर्केका हुन्छन्।

अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको दाबेदार होलान् भनेर उनका आफन्त, पार्टीका नेता-कार्यकर्ता कसैले सोचेका हुँदैनन्।

बुबाको अन्तिम इच्छा र आमाको रहर भए पनि अर्जुन आफैंलाई राजनीतिमा आउने कि नआउने प्रस्ट हुँदैन।

अर्कातिर उनका मामाका छोरा धनञ्जय पहिलेदेखि मुख्यमन्त्री पदमा आँखा गाडेर बसेका छन्। सन्जीवको मृत्युपछि धनञ्जय नै मुख्यमन्त्री बन्नेछन् भन्नेमा पार्टी पनि ढुक्क हुन्छ।

परिवारको कब्जामा रहेको कुर्सी हत्याउन अर्जुन र धनञ्जयले परिवार र आफन्तसँगै रस्साकस्सी गर्नुपर्ने हुन्छ।

एकदिन अर्जुनकी आमा उनलाई बुबा सन्जीवबारे सबै कुरा सुनाउँछिन्। बुबाको राजनीतिक यात्रा, आरोह-अवरोह, चुनौती र कमजोरीबारे थाहा पाएर अर्जुन चकित खान्छन्।

सबै घटना सुनेपछि अर्जुन आफ्ना बुबाले अधुरो र असरल्ल छाडेको बाटो सम्याउन कस्सिन्छन्। उनी इमानदार र सच्चा नेता बन्न चाहन्छन्। तर उनको बाटोमा ठूलोबुबादेखि धनञ्जयसम्मले अड्को थाप्छन्। अर्जुनले यसको संकेत मुख्यमन्त्रीको दाबी घोषणा गर्नुभन्दा पहिल्यै पाइसकेका हुन्छन्।

कुर्सीको लडाइँमा बाधा नआओस् भनेर अर्जुन सतर्क हुन्छन्। उनलाई मामाले भन्छन् पनि, ‘राजनीति एकदमै गाह्रो छ, तिमीलाई यसको अनुभव छैन।’

अर्जुन जवाफ दिन्छन्, ‘मलाई राजनीतिको अनुभव नहोला तर राजनीति तपाईंलाई भन्दा धेरै आउँछ।’

राजनीतिमा आउनुअगावै उनी यस्तो राजनीति खेल्छन् जसबाट आफ्नो पल्ला भारी बनाउन सफल हुन्छन्।

यो भार थामिराख्न अर्जुनको काँधलाई सहज भने हुँदैन।

उनको परिवारभित्रको राजनीति बाहिरको भन्दा खतरनाक हुन्छ। अर्जुन यसबाट अछुतो रहँदैनन्।

जोखिम र कठिनाइबीच राजनीतिमा बामे सर्दै गरेका उनलाई आमाबाहेक अरू आफन्तको साथ हुँदैन। देश र प्रणाली जोगाउन हिँडेका उनलाई आफ्नै ज्यान जोगाउन हम्मे पर्छ।

यस्तोमा अर्जुन राजनीतिको खेल कसरी खेल्छन्? उनले जानेको राजनीतिले उनलाई अनुभवको राजनीतिमा टिकाउला?

आफन्तले नै खुट्टा तानिरहेका बेला उनलाई कसले साथ देला?

बुबाले छाडेर गएको कुर्सीलाई उनको कामले नयाँ पहिचान र सम्मान देला?

यसनिम्ति तेलेगू फिल्म ‘राजयुद्ध’ हेर्नुहोला, हिन्दी डबमा ‘लिडर’। राजनीतिक दाउपेचको कथा रूचाउनेलाई यो फिल्म रोचक लाग्न सक्छ। फिल्म समीक्षा गर्नेहरूले यसलाई भारतकै सबभन्दा ‘दिलचस्प राजनीतिक फिल्म’ भनेका छन्।

यो फिल्म सन् २०१० मा रिलिज भएको हो। अर्जुनको भूमिकामा ‘बाहुबली’ मा भल्लालदेव बनेर चर्चामा आएका राना दगुबत्ती छन्। मुख्य अभिनेताका रूपमा राना दगुबत्तीको यो पहिलो फिल्म हो। दगुबत्तीले आफ्नो भूमिकामा अब्बल प्रदर्शन गरेका छन्।

शेखर कम्मुलाको निर्देशन र लेखनमा बनेको ‘राजयुद्ध’ बक्स अफिसमा पनि सफल भएको थियो। ‘फिल्म कम्प्यानियन’ ले यसलाई दशकका २५ उत्कृष्ट तेलेगू फिल्मको सूचीमा राखेको छ।

आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय