यसर्थ, प्रुडेन्ट इन्भेष्टर्सका लागि यो राम्रोे अवसर हुन सक्ने विश्लेषकहरु बताउँछन् । पुँजी बजारका लागि ब्याजदरबाहेक अन्य कोणबाट हेर्दा क्रमशः सुधारका पक्षहरु विकास हुँदै गएका छन् । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएका छन् । बैंकहरुमा निक्षेपमा सुधार हुँदै जाने संकेत देखिएको छ । तर यस्तो बेला एकाएक गरिएको ब्याजदर वृद्धिसँगै बैंकहरुको लागत वृद्धि हुन जाने देखिन्छ ।

यसले समग्र अर्थतन्त्रलाई नै बेफाइदा हुने जानकारहरु बताउँछन् । त्यसो त ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने विगतको तथ्यांकले पनि पुष्टि गरिसकेको छ । अहिले बैंकहरुको ब्याजदर निकै उच्च विन्दुमा पुगिसकेको छ । उच्च विन्दुमा पुगेपछि फेरि ओर्लिने नै हो । यसर्थ, आम लगानीकर्ताले बजारको चक्रलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि भूमिका रहने गर्छ ।
सेयर बजारका लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास हुन आवश्यक हुन्छ । बजार घटबढ गरिन्छ । अर्थतन्त्र पनि चक्रमा चल्छ । यसको प्रभाव बजारमा सीधा पर्छ भन्ने ख्याल गर्नुपर्छ । घटेको बजार पुनः माथि जान्छ भन्ने विश्वास पनि लगानीकर्तालाई हुनुपर्ने अनुभवीहरु बताउँछन् । विगत १ वर्षदेखि हाम्रो बजार वियरिस चक्रमा रहेको छ । ब्याजदर वृद्धि र तरलता अभावको मारमा बजार गुज्रिंदै आएको हो ।
यही बीचमा अर्थतन्त्रमा पनि समस्या देखापर्यो । विशेषगरी उच्च आयात हुनु र निर्यातमा त्यस अनुसार सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्र बिग्रियो । तर अब विस्तारै बाह्य क्षेत्रमा सुधार देखिन थालेको छ । रेमिटेन्स वृद्धि हुन थालेको छ । पर्यटन क्षेत्रमा सुधार आउन थालेको छ । यसले विदेशी मुद्रा आर्जनमा सहयोग गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि घट्दो क्रममा रहेको छ ।



