सिरहा । लैङ्गिक हिंसा अन्त्य, पीडितको न्यायमा पहुँच र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिरहामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ बुधबार देखि सुरु भएको छ । यस वर्ष स्थानीय सरकारको नेतृत्वमा सामाजिक संघसंस्थासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको छ ।
धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा र्याली, कोणसभा तथा सडक नाटकसहित अभियानको शुभारम्भ गरिएको हो । विगतका वर्षमा मुख्यतः सामाजिक संघसंस्थाको अगुवाइमा सञ्चालन हुँदै आएको अभियानमा यस वर्ष स्थानीय सरकारको सक्रिय नेतृत्व र अपनत्व देखिएको छ ।
धनगढीमाई नगरपालिकाको आयोजनामा मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्र, सहारा नेपाललगायत संघसंस्थाको सहकार्यमा र्याली निकालिएको थियो । नगरपालिकाबाट सुरु भएको र्याली विभिन्न स्थान परिक्रमा गर्दै जिरोमाइल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नगरप्रमुख शिवशंकर महतोले हिंसामुक्त समाज निर्माणका लागि अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि निरन्तरता दिनुपर्ने बताए । उनले हिंसा अन्त्यका लागि सबै पक्षले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक जागरण आवश्यक रहेको बताउँदै हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकाय जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख संगीता चौधरीले महिलामाथि हुने हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताइन् । सामाजिक डर, लाज, पारिवारिक दबाब वा प्रतिष्ठाका कारण हिंसा सहेर बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले पीडितलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् । हिंसाविरुद्ध खुलेर आवाज उठाउन र पीडितलाई साथ दिनसमेत उनले आग्रह गरिन् ।
कार्यक्रममा महिला अधिकारकर्मी शोभा बराल, महिला शाखा प्रमुख नितु सिंह, समग्र जनउत्थान केन्द्रका अध्यक्ष एवं मानवअधिकारकर्मी रामभरोसी महतो, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाकी संयोजक तथा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरालगायतले लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रयास, पीडितको संरक्षण र कानुनी न्यायको सुनिश्चिततामा जोड दिएका थिए ।
यसैगरी, गोलबजार नगरपालिकाले मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, सहारा नेपाल, ऋम्ध्ल् लगायत संघसंस्थाको सहकार्यमा अभियान सुरु गरेको छ । नगरपालिकाबाट निकालिएको र्याली बजार परिक्रमा गरी पुनः नगरपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा मुक्ति नेपालको नाटक टोलीले डिजिटल हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरेको थियो । नाटकमार्फत डिजिटल माध्यमबाट हुने हिंसा, दुव्र्यवहार र त्यसबाट बच्ने उपायबारे सन्देश प्रवाह गरिएको थियो ।
कोणसभामा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती कुमारी साहले हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न नगरपालिकाको न्यायिक समितिमार्फत संवेदनशील भएर काम भइरहेको बताइन् । हिंसा सहेर बस्नु समस्याको समाधान नभएको उल्लेख गर्दै उनले पीडितलाई न्याय, संरक्षण र सहयोग दिलाउन सबै पक्ष एकजुट हुनुपर्ने बताइन् ।
यस्तै, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले प्रदेशका विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा जनकपुरधाममा प्रभातफेरी आयोजना गरी अभियानको शुभारम्भ गरेको छ । अभियान अवधिभर प्रदेशका विभिन्न स्थानमा सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिन्छ । हिंसामुक्त समाज निर्माणका लागि अभियानलाई औपचारिक कार्यक्रम तथा नारामा मात्र सीमित नराखी दैनिक व्यवहारमा उतार्नुपर्ने र वर्षभरि निरन्तर सचेतना, सहकार्य तथा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।





