शुभ नारायण कामती
सिरहा । सिरहाको साविक चन्द्रउदयपुर गाविस–८(क) मा वन बुट्यान पर्तीका रूपमा रहेको करिब तीन बिघा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता हुँदै मारुती सिमेन्ट प्रालिका सञ्चालकको नाममा समेत नामसारी भएको भन्दै डिभिजन वन कार्यालय सिरहाले उक्त दर्ता बदर गरी जग्गालाई वनकै रूपमा कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्राचार गरेको छ । तर, वन कार्यालयले लगत कट्टा तथा दर्ता बदरका लागि गरेको पत्राचार तीन वर्ष बित्दासमेत कार्यान्वयनमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय सिरहा, लहानले २०८० कात्तिक १२ गते भूमिसुधार तथा मालपोत कार्यालय सिरहालाई पत्र पठाउँदै साविक चन्द्रउदयपुर गाविस वडा नं. ८(क) का कित्ता नं. २०० को ०–१७–१०, कित्ता नं. २०२ को ०–१५–६ र कित्ता नं. २०६ को १–७–८ गरी कुल तीन बिघा चार धुर जग्गा वन बुट्यान पर्तीका रूपमा रहेको उल्लेख गरेको छ ।

वन कार्यालयका अनुसार उक्त जग्गामा डाँडा, झाडी तथा विभिन्न प्रजातिका रुखहरू रहेका थिए । वन क्षेत्रका रूपमा कायम हुनुपर्ने जग्गा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको निर्णयका आधारमा विभिन्न व्यक्तिका नाममा जग्गाधनी प्रमाणपुर्जा तयार गरी दर्ता गरिएको थियो । त्यसपछि पुराना कित्ता विभाजन गरी कित्ता नं. ६७८, ६७९, ६८०, ६८१, ६८२, ६८३, ६८४, ६८७, ६८८ र ६८९ कायम गरिएको वन कार्यालयको पत्रमा उल्लेख छ ।
वन कार्यालयका अनुसार आयोगबाट वितरण गरिएको उक्त जग्गाका जग्गाधनीहरूले २०७३ र २०७४ सालमा मारुती सिमेन्ट प्रालिका सञ्चालक अनुज राठी र मनोजकुमार गोयललाई बिक्री गरी नामसारी गरेका थिए ।
उक्त जग्गा वन बुट्यान पर्तीका रूपमा रहेको भन्दै दर्ता बदर गरी पुरानै अवस्थामा कायम गर्न माग गर्दै तत्कालीन गोलबजार नगरपालिका–१० का वडाध्यक्ष देवनारायण महतोसमेतले २०७७ भदौ १७ गते डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वन कार्यालयले जग्गाको अवस्था र दर्ता प्रक्रियाबारे अध्ययन तथा अनुसन्धान अघि बढाएको थियो ।
वन कार्यालयले उक्त जग्गासम्बन्धी निर्णय गर्दा वनसम्बन्धी कानुनी व्यवस्था, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर तथा सम्बन्धित वन अधिकृतको स्थलगत प्रतिवेदनलाई आधार बनाएको जनाएको छ । कार्यालयको पत्रमा सर्वोच्च अदालतको ‘इन्दु निरौला विरुद्ध जिल्ला वन कार्यालय मोरङ’ मुद्दामा प्रतिपादित नजिर तथा साविक वन ऐन, २०४९ को दफा १६ र वन ऐन, २०७६ को दफा ७ का व्यवस्थासमेत उल्लेख गरिएको छ ।
त्यसैगरी, सबडिभिजन वन कार्यालय गोलबजार, चोहर्वाका वन अधिकृत सत्यनारायण यादवले पेस गरेको स्थलगत प्रतिवेदनमा समेत विवादित जग्गा वन बुट्यान पर्तीका रूपमा रहेको उल्लेख भएको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय सिरहाका तत्कालीन डिभिजन वन अधिकृत सुजीतकुमार झाले २०८० कात्तिक १२ गते हस्ताक्षर गरेको पत्रमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको निर्णयका आधारमा भएको जग्गा वितरण, त्यसपछि विभिन्न व्यक्तिका नाममा भएको दर्ता तथा मारुती सिमेन्ट प्रालिका सञ्चालक मनोजकुमार गोयल र अनुज राठीका नाममा भएको बिक्री तथा नामसारीको दर्ता श्रेस्ता बदर गर्न अनुरोध गरिएको छ । साथै, विवादित जग्गालाई वन बुट्यानकै रूपमा यथावत् कायम गर्नसमेत आग्रह गरिएको छ ।
पत्रमा वन ऐन, २०७६ को दफा ७ को उपदफा (४) बमोजिम दर्ता भएको लगत कट्टा गरी त्यसको जानकारी डिभिजन वन कार्यालयलाई उपलब्ध गराउन मालपोत कार्यालयसँग माग गरिएको छ ।
उक्त पत्र भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा २०८० कात्तिक १४ गते दर्ता भएको अभिलेखमा देखिन्छ । पत्रको दर्ता नम्बर ५९५४ रहेको छ ।
वन कार्यालयले उक्त पत्रको बोधार्थ वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग, मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, गोलबजार नगरपालिका तथा सबडिभिजन वन कार्यालय गोलबजार, चोहर्वालाई समेत पठाएको थियो । गोलबजार नगरपालिकालाई विवादित जग्गासम्बन्धी करको लगतसमेत कट्टा गरी जानकारी दिन भनिएको थियो भने सबडिभिजन वन कार्यालयलाई नगरपालिकासँग समन्वय गर्न निर्देशन दिइएको थियो ।
यद्यपि, वन कार्यालयले २०८० कात्तिकमै दर्ता श्रेस्ता बदर तथा लगत कट्टाका लागि औपचारिक पत्राचार गरे पनि हालसम्म उक्त प्रक्रिया टुंगोमा पुग्न सकेको छैन ।
मालपोत प्रमुख भन्छन् : अख्तियारको अनुसन्धानका कारण प्रक्रिया रोकिएको छ
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख सुबोधकुमार ठाकुरले डिभिजन वन कार्यालयको पत्र धेरै पहिले प्राप्त भएको भए पनि हालसम्म जग्गाको लगत कट्टा नभएको बताए । उक्त जग्गासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले अनुसन्धानको अवस्था र कानुनी प्रक्रियाका कारण हाल थप प्रक्रिया अघि नबढाइएको बताए ।
मारुती सिमेन्ट : मालपोतको अभिलेख हेरेर जग्गा खरिद गरेका हौँ
मारुती सिमेन्ट प्रालिका प्रतिनिधि मनोज श्रेष्ठले जग्गा खरिद गर्दा मालपोत कार्यालयको अभिलेखमा दर्ता श्रेस्ता कायम रहेकाले सोही आधारमा सम्बन्धित व्यक्तिहरूसँग खरिद गरिएको बताए । यस विषयमा यसअघि पनि विभिन्न निकायमा मुद्दा परेको उल्लेख गर्दै उनले हालसम्म लगत कट्टासम्बन्धी कुनै जानकारी आफूहरूलाई प्राप्त नभएको बताए ।
वन क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा वन कार्यालयले नै दर्ता बदर र लगत कट्टाका लागि औपचारिक पत्राचार गरिसकेको अवस्थामा पनि प्रक्रिया अघि नबढ्नुले सरकारी जग्गाको संरक्षण तथा प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठाएको छ । विवादित जग्गाको वास्तविक प्रकृति, दर्ता प्रक्रियाको वैधानिकता र स्वामित्वसम्बन्धी विषय भने सम्बन्धित सरकारी अभिलेख, अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट टुंगो लाग्नुपर्ने देखिन्छ ।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरी
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाले वन कार्यालयबाट पठाइएको पत्र हालसम्म कार्यान्वयन नगरेको बताए । उनका अनुसार वन कार्यालयले पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरे पनि जग्गाको लगत कट्टा हुन सकेको छैन ।
“कहिले सरकारी वकिलको कार्यालयबाट राय मागिएको र कहिले विभागबाट राय मागिएको भन्दै मालपोत कार्यालयले प्रक्रिया अघि बढाएको छैन,” चौधरीले भने, “जबकि वन ऐन, २०७६ को दफा ७ को उपदफा (४) मा यस विषयमा राय वा निर्देशन लिनुपर्ने व्यवस्था छैन । त्यसैले वन बुट्यान पर्ती उल्लेख भएका जग्गाहरूको यथाशीघ्र लगत कट्टा गरी त्यसको जानकारी वन कार्यालयलाई पठाउन पुनः अनुरोध गरेका छौँ ।”
नापी कार्यालय सिरहाका सूचना अधिकारी दिपेन्द्र यादवको भनाइ
नापी कार्यालयको फिल्डबुक रेकर्ड अनुसार सिरहाको साविक चन्द्रउदयपुर गाविस वडा नं. ८(क) का कित्ता नम्बर २०० को ०–१७–१०, कित्ता नम्बर २०२ को ०–१५–६ र कित्ता नम्बर २०६ को १–७–८ गरी जम्मा ३ बिघा ० कट्ठा ४ धुर जग्गा वन बुटेन पर्तीका रूपमा रहेको बताएका छन् ।




