सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालन भइरहेको ‘मेची-महाकाली पदयात्रा’ आफ्नो यात्रालाई निरन्तरता दिँदै सिरहा जिल्लामा प्रवेश गरेको छ।
मेचीदेखि महाकालीसम्म जनतासँग प्रत्यक्ष जोडिने र उनीहरूका भावना बुझ्ने मुख्य उद्देश्यसहित अघि बढाइएको यो अभियान सप्तरीको यात्रा पूरा गर्दै सिरहा पुगेको हो। यसअघि सप्तरीमा सम्पन्न कार्यक्रमका क्रममा सांसद सिंहले अभियानलाई पूर्ण साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण स्थानीयवासी तथा शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्।

जनताको आवाज सुन्ने, नागरिकका गुनासा तथा भावनाहरू नजिकबाट बुझ्ने र उनीहरूका वास्तविक समस्या तथा मुद्दाहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उद्देश्यले यो पदयात्रा अघि बढिरहेको सिंहले बताएका छन्।
मेचीदेखि महाकालीको यस यात्राका क्रममा विभिन्न क्षेत्रका नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका विचार, अपेक्षा र समस्याबारे विस्तृत जानकारी लिने काम भइरहेको छ। सिरहा जिल्लामा पनि यस अभियानले निरन्तरता पाउँदै स्थानीय नागरिकसँगको संवादलाई थप बलियो बनाउने जनाइएको छ।




