शुभ नारायण कामती
सिरहा । भारतीय नागरिक रहेको अवस्थामा झुट्टा विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोप लागेका सिरहा नगरपालिका–१६ का वडा अध्यक्ष धिरेन्द्रप्रसाद मोरवैताविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता भई छानबिन भइरहेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दर्ता भएको उक्त जाहेरीमाथि गृह मन्त्रालयले समेत आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्राचार गरेको छ ।
नेकपा एमालेको चुनाव चिह्नबाट निर्वाचित वडा अध्यक्ष मोरवैताविरुद्ध झुट्टा विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा कारबाहीको माग गर्दै स्थानीय शम्भुप्रसाद यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिन खोजेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाक रजिष्ट्रीमार्फत जाहेरी पठाएका थिए । हुलाकबाट पठाइएको जाहेरीसमेत दर्ता नभएपछि यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जाहेरीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सिरहाले २०८२ मंसिर ११ गते जाहेरी दरखास्त दर्ता गरेको थियो । प्रहरीले उपलब्ध गराएको जाहेरी दरखास्तको भरपाई (अनुसूची–६) मा ‘परमादेशको आदेशबाट दर्ता’ उल्लेख छ । उक्त जाहेरीको दर्ता नम्बर १७५ कायम गरिएको छ ।
यसैबीच, गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले २०८३ भदौ ४ गते जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्राचार गर्दै वडा अध्यक्ष मोरवैताको नागरिकतासम्बन्धी उजुरीमाथि आवश्यक कारबाही गर्न भनेको थियो । मन्त्रालयले मोरवैताले झुट्टा विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्ने आरोपसहित परेको २९ पृष्ठको उजुरीसमेत संलग्न गरी आवश्यक छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
गृह मन्त्रालयको पत्रमा उजुरीमा उल्लेखित विषयमा केकस्तो भएको हो भन्नेबारे प्रचलित कानुनबमोजिम छानबिन गर्न, आवश्यक बुझ्नुपर्ने विषय बुझी कारबाही प्रक्रिया अघि बढाउन र त्यसको जानकारी मन्त्रालयलाई गराउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले उक्त पत्र आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले उक्त विषयमा जाहेरी दर्ता भई आवश्यक छानबिन भइरहेको बताएका छन् । उनका अनुसार प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
निवेदक यादवले वडा अध्यक्ष मोरवैता तथा उनका परिवारका सदस्यहरूले भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिकता लिएको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन् । उक्त विषयमा २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा समेत उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालयले भने त्यसबेला परेको उजुरी तामेलीमा राख्ने निर्णय भइसकेको जिकिर गरेको थियो ।
यता, वडा अध्यक्ष मोरवैताले आफ्नो नागरिकतासम्बन्धी विषयमा यसअघि नै छानबिन भइसकेको र आफू निर्दोष रहेको दाबी गरेका छन् । २०७९ सालको निर्वाचनका समयमा पनि नागरिकतासम्बन्धी उजुरी परेको उल्लेख गर्दै उनले जिल्ला प्रशासन कार्यालय सिरहाबाट त्यतिबेलै छानबिन सम्पन्न भइसकेको बताएका छन् ।
जाहेरी दर्ता र गृह मन्त्रालयको पछिल्लो पत्राचारसँगै वडा अध्यक्ष मोरवैताको नागरिकतासम्बन्धी विवाद पुनः चर्चामा आएको छ । यद्यपि, उजुरीमा लगाइएको आरोपका आधारमा मात्रै कसैको नागरिकता अवैध ठहर हुँदैन । त्यसैले सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा कानुनबमोजिम निष्कर्षमा पुग्नु आवश्यक छ ।




