शुभ नारायण कामती
सिरहा । सिरहा सदरमुकामको मुख्य सडकमा ठूल्ठूला ढुङ्गा र इँटा जथाभावी छरिएका कारण सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । एक महिनाभन्दा बढी समयदेखि सडकको बीच भागमै ढुङ्गा र इँटा रहँदा पनि सम्बन्धित निकायले हटाउन चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।
सडकमा छरिएका ढुङ्गा र इँटाका कारण सवारीसाधन ठोक्किने, चालकले अचानक दिशा परिवर्तन गर्नुपर्ने तथा पैदलयात्रीसमेत दुर्घटनामा पर्ने जोखिम छ । विशेषगरी रातिको समयमा सडकमा रहेका अवरोध स्पष्ट नदेखिँदा दुर्घटनाको सम्भावना थप बढेको स्थानीयको भनाइ छ ।
उक्त सडक स्तरोन्नतिको काम संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, दमकअन्तर्गत सडक विभागको सडक डिभिजन कार्यालय, लहानमार्फत भइरहेको छ । माडर–चोहर्वा, गोलबजार–सिरहा–सङ्घुरे–उदयपुर, मिर्चैया–कटारी–घुर्मी तथा हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकलाई चार लेन (एनएच+२०) मा स्तरोन्नति गर्ने योजनाअन्तर्गत अस्फाल्ट कङ्क्रिट र कर्ब स्टोन निर्माणको काम भइरहेको हो ।


उक्त निर्माण कार्यको ठेक्का एम÷एस भगत–बाबा जे.भी., बानेश्वर–१०, काठमाडौंले ७ करोड ५८ लाख ८५ हजार ९ सय ४६ रुपैयाँ ३१ पैसा (भ्याट तथा पीएससहित) मा लिएको छ । २०८३ वैशाख १७ गते सम्झौता भएको उक्त काम सुरु सम्झौताअनुसार २०८३ असार ३० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर, निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
निर्माण कार्यका क्रममा सडकको बीच भागमा ढुङ्गा र इँटा छरिएर छाडिनु तथा त्यसको उचित व्यवस्थापन नहुनुले सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ । निर्माणस्थलमा आवश्यक सुरक्षा संकेत, चेतावनी चिह्न तथा सुरक्षित आवागमनको व्यवस्था हुनुपर्ने भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन ।
सडकमा देखिएको जोखिम हटाउन सिरहा नगरपालिका, सडक डिभिजन कार्यालय लहान, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीले प्रभावकारी समन्वय नगरेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । निर्माण व्यवसायीले निर्माणस्थल व्यवस्थित नगर्दा नागरिकको सुरक्षाभन्दा निर्माण कार्यलाई मात्र प्राथमिकता दिइएको उनीहरूको गुनासो छ ।
स्थानीय समाजसेवी शम्भु साहले सडकमा रहेका ढुङ्गा र इँटाका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै सम्भावित मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन् । उनले सदरमुकामको मुख्य सडकमा रहेका यस्ता जोखिम तत्काल हटाउन र सम्झौताअनुसारको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

सडक निर्माण तथा स्तरोन्नति नागरिकलाई सहज र सुरक्षित आवागमनको सुविधा दिनका लागि हो, जोखिम बढाउन होइन । सम्भावित दुर्घटनाबाट मानवीय क्षति हुनुअघि नै निर्माणस्थल व्यवस्थित गरी सडकमा रहेका ढुङ्गा तथा इँटा हटाउन र सुरक्षित आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्न आवश्यक देखिन्छ । सार्वजनिक सडकमा निर्माण कार्य गर्दा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नु निर्माण व्यवसायी र सम्बन्धित निकायको अनिवार्य जिम्मेवारी हो ।
सडक डिभिजन कार्यालय लहानका साइड इन्जिनियर र निर्माण व्यवसायीसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।




