सप्तरी । सप्तरीको राजविराजमा Public Khabar  24 का सञ्चालक एवं सञ्चारकर्मी आदित्य अजयमाथि प्रहरीले कुटपिट गरेको आरोप लागेको छ ।
प्राप्त विवरणअनुसार, गएराति करिब १० बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह चोकमा गस्तीमा रहेको प्रहरी टोलीले अजयलाई नियन्त्रणमा लिएर कुटपिट गरेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कारण तथा कुटपिट हुनुको परिस्थितिबारे भने हालसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
प्रहरीको कुटपिटबाट घाइते भएको बताइएका अजयको प्रहरी निगरानीमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गरिएको थियो ।
यसैबीच, सञ्चारकर्मी अजयमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार वैद्यनाथ यादवले घोर निन्दा तथा भत्र्सना गरेका छन् ।
सल्लाहकार यादवले पत्रकारमाथि प्रहरीबाटै भएको भनिएको यस्तो व्यवहार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार भएको बताएका छन् ।
उनले घटनाको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरी तथा अन्य व्यक्तिहरूको पहिचान गर्न र कुनै पनि राजनीतिक वा प्रशासनिक दबाब तथा संरक्षणबिना दोषीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाध र निर्भय रूपमा निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यादवले सञ्चारकर्मीको सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
साथै, उनले घाइते सञ्चारकर्मी अजयको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय