सिरहा । जिल्ला अदालत सिरहाले अनुचित लेनदेन (मिटरब्याज) कारोबारको आरोप पक्राउ परेका एक जनालाई पूर्पक्षका लागि कारागार पठाएको छ ।
सिरहाको मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता कुमारी साहलाई अनुचित लेनदेन मुद्दामा जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको हो । मिर्चैया नगरपालिका–६ की ममता देवी रायको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुचित लेनदेन सम्बन्धि मुद्दा जिल्ला अदालत सिरहामा दर्ता गराएको थियो । जिल्ला अदालत सिरहाका न्यायधिश मनोज केसीको इजलाशमा थुनछेक क्रममा प्राप्त सबुत प्रमाणका आधारमा थुनामा राखेर अनुसंधान गरी कारबाही गर्नुपर्ने निश्षर्क निकाल्दै मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार राजकुमार आर्चायले बताए ।

साहमाथि जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहामा विभिन्न व्यक्तिले ९ वटा जाहेरी दर्ता गराएका छन् । सोही जाहेरीको आधारमा प्रहरीले अनुसंधानको क्रममा साहलाई पक्राउ गरी मुद्दा अगाडी बढाएको थियो । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी जाहेरी दर्ता गराएकी रायले बताएकी छिन् ।
यसैवीच अदालतबाट मिटरब्याजी आरोपित साहलाई पुर्पक्षको लागि कारागार पठाउने गरी न्यायधिश मनोज केसीले इजलाशबाट आदेश जारी भएसँगै अदालत बाहिर जम्मा भएका पीडितहरुले ‘न्यायलय जिन्दावाद’को नारा लगाएका थिए । नारा लगाउनेमा अधिकांस साहबाट पीडित रहेकाहरु थिए ।
अदातलको आदेशमा यस्तो
जिल्ला अदालत सिरहाका न्यायधिश मनोज केसीले अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी मुद्दाको आईतवार थुनछेक सम्बन्धी सुनुवाई गर्दै पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेका छन् । उनले जार गरेको आदेशमा भनिएको छ– ‘अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरी जाहेरवालीसँग मैले दिएको रकमको तेब्बरको कागज गरेकोभनी गरेको साबिती बयान, निज उपर परेको किटानी जाहेरी दरखास्त, मिसिलमा संलग्न रहेको कपाली तमसुकमा उल्लेखित अन्तर साक्षी र लेखक साक्षीले यी प्रतिवादीले दिएको रकमभन्दा तीन गुणा वढीको कपाली तमसुकहरु बनाई गाउँघरमा विभिन्न मानिसहरुलाई मौखिक रुपमा वार्षिक ३६ प्रतिशत ब्याजदरमा र कपाली तमसुकमा वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणहरु लगानी गर्ने गर्छिन भन्ने उल्लेख गरी गरिदिएको कागज, यी प्रतिवादीले जाहेरवालीको आमासँग राजिनामा पारित गराई जग्गा लिएको, निज प्रतिवादीलाई हुनुपर्ने सजाय समेतका आधार प्रमाणबाट यी प्रतिवादी हालैको अवस्थामा निर्दोष रहेकोछन् भन्न सकिने अवस्था नरहेकोे पछि ठहरे बमोजिम हुने हुँदा हाललाई निज प्रतिवादी सुजाता कुमारी साहलाई मुद्दा पुर्पक्षो निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिमको मुद्दा पुर्पक्षको निमित्त थुनामा राख ।’



