बदलिँदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुला सीमा सम्वाद समूह केन्द्रीय समितिको आयोजनामा आयोजित छलफलमा वक्ताहरूले विगतमा भएका दुईवटा सन्धीहरू पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताएका छन् ।

कार्यक्रममा नेपाल–भारत सम्बन्धका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पालादेखि नेपालमा भारत विरोधी गतिविधि शुरू हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफू २०४४ सालमा विवाह गरेर नेपाल आएको बेला नागरिकता लिन कुनै पनि अप्ठ्यारो नभएको बताउँदै अहिले हुन थालेको जालझेलप्रति आपत्ति जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिलामाथि विश्वास नभएको खण्डमा सबैलाई फिर्ता पठाइदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन् ।

कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समूहका केन्द्रीय अध्यक्ष राजिव झाले खुला सीमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मागहरू समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भए पनि चीनसहितका देशहरूले नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिगार्न थालेको बताएका थिए । चीनको चासो बढेपछि अन्य देशले समेत हस्तक्षेप गर्न थालेको उनको भनाइ छ । यसको मुख्य असर नेपाल भारतको पौराणिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको चिन्ता छ ।

कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकारबीचको सम्बन्धभन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिगार्न नसकिने बताए ।

कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जनकपुरधाम वडा नं. ३ का अध्यक्ष दीपेन्द्रकुमार साह, कमला बचाउ अभियानका प्रमुखसहित भारत सितामढीमा गठन भएको नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष रोहित झासहितको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय