काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मंसिर ४ मै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।
उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए ।

प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे ।
उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहााका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।’
प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनबारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए ।



