बागी उम्मेदवार बनेर मेयर जितेका बर्दिवासका प्रल्हाद क्षेत्री, चन्दननाथका राजुसिंह कठायत र जनकपुरका मनोज साह। फाइल : तस्बिर ।

स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनाव जितेकालाई फिर्ता ल्याउन नेपाली कांग्रेसमा माग भएको छ ।

गठबन्धन गर्दा विभिन्न ठाउँमा कांग्रेसकै कार्यकर्ताले विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिई जितेका थिए ।

पूर्वउपसभापति विमलेन्द्र निधिले आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिलाई फिर्ता ल्याउन माग गरेका हुन् ।

निधिको गृह जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट टिकट नपाएपछि मनोज साहले स्वतन्त्र उम्मेदवारी दिई जितेका थिए ।

यहाँ कांग्रेससहित पाँचदलीय गठबन्धनको समर्थनमा जसपाका लालकिशोर साह मेयर उम्मेदवार थिए, उनी पराजित भएका थिए ।

मेयर जितेका मनोज निधिनिकट नेता हुन् ।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको मेयर पनि स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हादकुमार क्षेत्री निर्वाचित भएका थिए । उनी कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि स्वतन्त्र उम्मेदवार भएका थिए ।

निधिले मनोज र प्रल्हादको नाम नै लिएर उनीहरूलाई पार्टीमा फिर्ता ल्याउनुपर्ने माग गरेका हुन् । निधिले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वतन्त्र उम्मेदवारी दिई जिनेका पार्टीका ती नेताहरूलाई फिर्ता ल्याउने वातावरण तयार पार्न ध्यानाकर्षण गराएका थिए ।

स्थानीय चुनावका बेला भने सभापति देउवाले पटकपटक निर्देशन जारी गर्दै गठबन्धनका विरूद्ध स्वतन्त्र उम्मेदवारी नदिन र दिए उम्मेदवार, प्रस्तावक र समर्थक पार्टी साधारण सदस्यसमेत नहुने भन्दै वक्तव्य जारी गरेका थिए। गठबन्धन गर्ने निर्णय नमान्नेलाई ५ वर्ष पार्टी सदस्य नहुने निर्देशन थियो ।

यस्तै जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत निर्वाचित भएका थिए । उनले कांग्रेसकै पदमबहादुर शाहीलाई हराएका थिए । राजुसिंह पनि कांग्रेस नै थिए । पार्टीले उनलाई टिकट नदिएपछि उनले कांग्रेसकै उम्मेदवार हराएका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन नमान्ने, स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई कारबाही गर्न माग भइरहेको बेला स्वतन्त्र रूपमा उम्मेदवारी दिई जितेकालाई पार्टीमा फिर्ता ल्याउन माग उठेको हो ।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले टिकट वितरणमा विवेकपूर्ण निर्णय गर्न नसक्दा केही ठाउँमा कांग्रेसकै कार्यकर्ता स्वतन्त्र उम्मेदवार भई चुनाव जितेकोले उनीहरूलाई छिटो पार्टीमै फिर्ता ल्याउनुपर्ने बताए ।

‘कतिपय ठाउँमा पार्टी सभापतिहरूले विवेकपूर्ण निर्णय गर्न नसक्दा त्यसको विरोधमा पार्टीका कार्यकर्ता र जनताले हाम्रै पार्टीका साथीहरूलाई स्वतन्त्र उठाएर पनि जिताएका छन्,’ उनले भने, ‘टिकट वितरणमा भएका यस्ता प्रवृत्तिबारे छानबिन हुनुपर्छ । हामीले टिकट नदिएर पनि स्वतन्त्र हैसियतमा जनअनुमोदित साथीहरूलाई स-सम्मान पार्टीमा फिर्ता हुने वातावरण बनाउने निर्णय गर्न नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।’

यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीले पनि पार्टीका नेताहरूलाई थप कारबाहीजस्ता कुरा गर्न नहुने बताएका छन् ।

उनले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिले सभापति र नेता रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताए ।

सभापति र नेता पौडेलले नै आफूहरूलाई अन्त भोट हाल्न सिकाएको पनि उनले बताएका थिए ।

‘जहाँसम्म चुनावमा असहयोग गरेको कुरा छ । तिनीहरूलाई कारबाही गर्ने कुरा पनि उठेको छ । गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । किनभने उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको,’ केसीले केन्द्रीय समितिमा भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय