सिरहा । चालू आर्थिक वर्ष २०७८/०७९ सकिन तीन साता बाँकी छ । तीन साता मात्रै बाँकी रहँदा सिरहा जिल्लामा रहेका सरकारी कार्यालयहरुको पूँजिगत खर्चको अवस्था एकदम न्यून रहेको पाईएको छ । सरकारी कार्यालयहरुले आफूले पाएको पूँजिगत बजेट खर्च गर्न नसक्दा जिल्लाको पूर्वाधार विकासमा असर गरेको छ । सिरहा जिल्लामा दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन सकेको छैन् । असार महिनाको पहिलो सातासम्म सिरहा जिल्लामा रहेका संघीय सरकारले पूँजीगततर्फ ३२ दशमलव ६८ प्रतिशत र प्रदेश अन्र्तगत रहेका सरकारी कार्यालयहरुले पूँजीगततर्फ २५ दशमलव २२ प्रतिशत बजेट मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
सिरहा जिल्लामा संघीय र प्रदेश सरकारले विनियोजन गरेका कार्यक्रमहरु प्रदेश सरकार अन्र्तगत रहेको सरकारी कार्यालयहरुको कार्यान्वयन दर अघि देखिएको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा संघीय सरकार अन्र्तगत रहेका कार्यालयहरुले चालुतर्फ ८९ दशमलव ८३ प्रतिशत र प्रदेश अन्र्तगत रहेका कार्यालहरुले चालुतर्फ ६९ दशमलव ३५ प्रतिशत बजेट खर्च भएको देखिएको छ । खर्च गरिएको बजेट स्थानीय तहलाई अनुदानका रुपमा समेत प्रदान गरिदै आएको छ ।
‘तलबभत्ता, प्रशासनिक काम र स्थानीय तहलाई दिइने अनुदानसँग सम्बन्धित चालु बजेटको खर्च सन्तोषजनक छ’, प्रमुख कोष नियन्त्रक ध्यान कुमार राईले भने,‘पूँजीगत खर्च हुने क्रममा रहेको छ । भुक्तानी नहुने बेलासम्म तथ्यांकमा प्रबिष्ट नहुँदा खर्च कम देखिन्छ ।’
सिरहा जिल्लामा पूँजिगत खर्च न्यून खर्च हुनेलाई रोक्न असारको अन्तमा मात्र नभएर अन्य महिनामा खर्च गर्ने परिपाटीको विकास गर्दै लैजानुपर्ने उनको भनाई छ ।

सिरहा जिल्लाका लागि पूँजीगततर्फ संघीय सरकारले विनियोजन गरेको ४ अर्ब ७४ लाख ७२ हजार ७ सय २५ मध्ये हालसम्म १ अर्ब ३० करोड ९७ लाख ७९ हजार ७ सय ६७ मात्रै खर्च भएको तथ्यांक कार्यालयसँग रहेको छ । यस्तै प्रदेश सरकारले विनियोजन गरेको पूँजीगततर्फ दुई अर्ब ६५ करोड ९० लाख १९ हजार मध्ये ६७ करोड ७ लाख ३७ हजार १५० खर्च भएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा मात्रै कामहरु वढी हुने भएकोले भुक्तानी लिनसमेत असार मसान्त कुर्ने परिपाटीका कारण पूँजीगत खर्च बढ्न नसकेको कार्यालय प्रमुख राईको भनाई छ ।
यता सिरहा जिल्लामा रहेका १७ स्थानीय तहहरुले गर्ने खर्चको विवरण कोलेनिकामा असार महिनाको अन्तमा एकै पटक आउने गरेको कार्यालयले जनाएको छ ।
स्थानीय निर्वाचन २०७९ लक्षित गरी सिरहा जिल्लाका १७ वटै स्थानीय तह केन्द्रित निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएकोले चालु खर्च बढी देखिएको छ ।



