सिरहा । हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका–५ स्थित सहजा खोलामा फेरि सवारी दुर्घटना भएको छ। गएराति मध्यरातमा राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको बीएबी ७८२१ नम्बरको कार खोलामा खस्दा चालकसहित तीन जना घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया निवासी २२ वर्षीय चालक अभिषेक कुमार राय, पछाडि सवार ३९ वर्षीया दिपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते भएका छन्।
घाइते तीनै जनालाई सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा क्षतिग्रस्त भएको कार भने घटनास्थलमै रहेको छ।

सहजा खोलामा करिब १० वर्षअघि सुरु गरिएको पुल निर्माण कार्य ठेकेदार तथा सम्बन्धित निकायको लापरबाहीका कारण हालसम्म सम्पन्न हुन सकेको छैन। पुल नबन्दा यस क्षेत्रमा पटक–पटक सवारी दुर्घटना हुँदै आएको स्थानीयवासीको गुनासो छ।
पछिल्लो दुर्घटनापछि आक्रोशित स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। स्थानीय अगुवा सन्तोष यादवका अनुसार ठेकेदार र सम्बन्धित निकायमाथि कारबाही गर्नुपर्ने, पुल निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने तथा दुर्घटना रोक्न तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ।

स्थानीयले ठेकेदारको प्रतिनिधि र सडक आयोजनाका इन्जिनियरलाई नियन्त्रणमा लिएको दाबी गर्दै मुख्य ठेकेदार र प्रमुख जिल्ला अधिकारी (सीडीओ) घटनास्थलमा नआएसम्म नियन्त्रणमै राख्ने चेतावनी दिएका छन्।




