काठमाडौं : ६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ परेका छन्। नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने काठमाडौं महानगरपालिका-२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हितविपरीत हुने कार्य गरी बैंकिङ कसुरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।




