नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय चुनावमा आठौँपटक उम्मेदवार बनेका छन् । २०४८ यता संसदीय चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा धेरैपटक उम्मेदवार बनेको सम्भवत ओली एक्लो नेता हुन् । विगतका सातमध्ये छ चुनावको नतिजा उनकै पक्षमा छ । अब २१ फागुनपछि के हुन्छ ? ओलीको संसदीय यात्रा रोकिन्छ या थप अगाडि बढ्छ ?
यति कुरा जान्न र बुझ्न यतिबेला झापा– ५, देश–विदेशमा अनुमान र विश्लेषणको केन्द्र बनेको छ । झापा– ५ मा भने स्वयम् उम्मेदवार र मतदाता २१ फागुनपछिको अवस्था आकलन गर्न सकिरहेका छैनन् । यसको एउटा दर्बिलो उदाहरण हो, ओलीको यसपटकको चुनावी घरदैलो कार्यक्रम । आगामी चुनावको लागि दोस्रो चरणको कार्यक्रम सुरु भएकै छैन् । तर, ‘हेभी वेट’ भनिएका उम्मेदवारमा देखिएको ‘छटपटी’ र ‘दौडधुप’ले झापा– ५ को चुनाव ‘इलेक्सन अफ द नेसन’ बन्नेमा दुई मत छैन ।

दमक, कमल, गौरादह र गौरीगञ्ज त्यहीँ क्षेत्र हो जहाँबाट ओलीले चुनाव जित्दै आएका छन् । २०७४ र २०७९ मा देशैभरिबाट सर्वाधिकमध्ये मत पाएर ओलीले चुनाव जितेका हुन् । सर्वाधिक मत पाएर निर्वाचित हुँदै आएका ओलीले अहिलेको जस्तो घरदैलो विगतमा गरेनन् । गाउँ–गाउँ घुमेर भोट मागेनन् । तर, यसपटक अवस्था त्यस्तो छैन । ओलीले निर्वाचन क्षेत्र छोड्न सकिरहेका छैनन् । ५ माघमा झापा झरेका ओलीले ६ माघमा उम्मेदवारी दर्तापछि थप चार दिन निर्वाचन क्षेत्रमै बिताए । २३ माघमा पुनः झापा आएका ओली आफ्नो लागि मत माग्नमा व्यस्त छन् । निर्वाचनको पहिलो चरण नसकिँदै झण्डै दुई साता निर्वाचन क्षेत्रमै बसेर ओलीले घरदैलो कार्यक्रम गरेको इतिहासमै ‘दुर्लभ’ घटनाजस्तै बनेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यसपटकको घरदैलो कार्यक्रम विगतभन्दा धेरै कुराले फरक छ । ओली यसपटक गाउँ–गाउँ घुमेर भोट मागिरहेका छन् । आफ्नै निर्वाचन क्षेत्र भए पनि विगतका चुनावमा कहिल्यै नगएका बस्तीहरूमा ओली यसपटक पुगिरहेका छन् । घर–घरमा गएर व्यक्ति–व्यक्तिलाई भेटिरहेका छन् । सब्जी बजार, सुकुम्वासी बस्ती, अव्यवस्थित बसोवासी, धार्मिक कार्यक्रमस्थल, दशगजानजिकको बस्तीहरूमा पुगिरहेका छन् । बालकदेखि वृद्धासम्म, युवा, महिला सबै मतदातालाई ओली स्वयम्ले भेटिरहेका छन् । उनीहरूका जिज्ञासा, गुनासा र सुझावहरू धैर्यतासाथ सुनिरहेका छन् । यी गतिविधिहरू विगतका चुनावमा ‘बिरलै’ देखिन्थे ।
२०७४ को चुनावमा ओलीले उम्मदेवारी दर्ताको दिनबाहेक झापा– ५ मा दुईपटक चुनावीसभा गर्न आएका थिए । त्यसमध्ये एकपटकको कार्यक्रम थियो, एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको नेकपाले सुरु गरेको ‘मेची–महाकाली अभियान’ उद्घाटन कार्यक्रम । अभियान सकेर ओलीले दमक, गौरादह र गौरीगञ्जमा चुनावीसभा गरेका थिए । त्यत्ति गर्दा ओलीले २०७४ को चुनावमा झापा– ५ बाट देशैभरिबाट सर्वाधिक ५७ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।
२०७९ मा पनि अघिल्लो चुनावमा भन्दा फरक थिएन । त्यसबेला तीनपटकमा गरेर ओलीले करिब १० दिन झापा– ५ मा बिताएका थिए । दमक, गौरादह र गौरीगञ्जमा एक–एकवटा चुनावीसभा तथा केही अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका ओलीले निकटतम् प्रतिद्वन्द्वीलाई डबलभन्दा बढी मतले पराजित गरेका थिए ।
तर, यसपटक अवस्था त्यस्तो छैन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा– ५ बाट उम्मेदवार बनेपछि नियमित उम्मेदवार ओली दबाबमा परेका छन् । ओलीलाई विगतका दुइटा चुनावमा झापा– ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ थियो । चुनावी तालमेलअन्तर्गत झापा– ३ मा एमालेले राप्रपालाई र झापा– ५ मा राप्रपाले एमालेलाई मत दिँदै आएको थियो । यसपटक यी दुई पार्टीबीच अहिलेसम्म खुल्ला रूपमा चुनावी तालमेलको कुनै सूचना बाहिरिएको छैन । दुवै पार्टीले झापाका यी दुईवटै क्षेत्रमा आ–आफ्ना उम्मेदवार उठाएका छन् । यसकारण पनि ओली विगतमा भन्दा दबाबमा देखिन्छन ।
‘ओलीले योपल्ट धेरै मिहेनत गरिरहनुभएको छ । पहिला यस्तो हुँदैन थियो’, पूर्वजनप्रतिनिधि एवं गौरीगञ्जका पुराना व्यक्तित्व विजय अग्रवालले भने, ‘पहिला पूरै गौरीगञ्जमा एउटा कार्यक्रम हुन्थ्यो । योपल्ट ओली आफैँ गौरीगञ्जका भित्री गाउँ र चोकहरूमा पुगेर भोट मागिरहनुभएको छ ।’
चुनावी कार्यक्रमका लागि २३ माघ (शुक्रबार) दोस्रोपटक झापा आएका ओलीले शनिबार, आइतबार, सोमबार र मंगलबार गरी ४ दिनमा झापा– ५ का ५३ भन्दा बढी स्थानका मतदातासँग भेटघाट गरेका छन् । उनले योपटक कार्यक्रम तालिका नै बनाएर प्रत्येक १५ देखि २० मिनेटको फरकमा आउने चोक तथा बस्तीका मतदातालाई भेट गरिरहेका छन् ।
‘यसपटक गाउँमै अध्यक्ष ओलीलाई भेट्न पाउँदा मतदातामा एकखाले उत्साह देखिन्छ । मतदाताका गुनासा, जिज्ञासाको जवाफ पनि स्वयम् अध्यक्षज्यूबाटै पाएका छन् । यस वर्षको घरदैलो कार्यक्रमले मतदातामा राम्रो सन्देश गइरहेको छ’, एमाले झापा– ५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले भने ।



