काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ। सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थिति तनावग्रस्त बनेको हो।
झडपका क्रममा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा समेत फुटेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली उक्त गोदाममा पुगेको थियो, तर व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको हो।

व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ। घाइते सुरक्षाकर्मीको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनापछि आदर्शनगर क्षेत्रमा तनाव कम गर्न सुरक्षा सतर्कता निकै बढाइएको छ र ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले उक्त गोदामबाट ठुलो परिमाणमा सामान नियन्त्रणमा लिएको भए पनि बरामद सामानको विस्तृत विवरण र परिमाण भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
हाल सामानको लगत सङ्कलन र मुचुल्का उठाउने कार्य भइरहेको र गोदाम धनीको विषयमा पनि अनुसन्धान भइरहेको नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन्। सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले घटनाको थप अनुसन्धान भइरहेको बताए। यता, आदर्शनगरका व्यापारीहरूले भने राज्यले वैध व्यवसाय गर्नेहरूलाई पनि तस्कर सरह व्यवहार गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।



