मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा ७ राजनीतिक दलले गरेको प्रदर्शनको क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ ।
प्रदर्शनको क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुगेका मुख्यमन्त्री यादवले सो घोषणा गरेका हुन् ।

घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मुख्यमन्त्री यादवले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताए ।
मंगलबार मुख्यमन्त्री पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी घाइते भएका थिए ।



