काठमाडौँ । नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाताहरूलाई तयार रहन आह्वान गरेका छन्।
पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको साम्पाङले बताए। मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले स्पष्ट पारे।

मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले भिडियोमा बताएका छन्। त्यहाँ बिजुलीको सुविधा समेत नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर बोकेर लान पनि कठिन हुने उनको भनाइ छ। त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झम्पलको भरमा ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने उनले प्रस्ट पारे। गिटी कुट्दा उछिट्टिएर लाग्न सक्ने भएकाले सुरक्षाका लागि पुराना टायर वा अन्य सामग्रीले छेक्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए।
पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्ने साम्पाङको अनुमान छ। श्रमदानमा जानेहरूले रिले प्रणालीमा काम गर्नुपर्ने र यसका लागि ठुलो सङ्ख्यामा जनशक्ति आवश्यक पर्ने उनले बताए। दुर्गम क्षेत्र भएकाले खानपिनको सहज व्यवस्था नहुने हुँदा श्रमदानमा जानेहरूले आफ्नो लागि मकै, चिउरा, चाउचाउ जस्ता सुक्खा सातु आफैँ बोकेर जानुपर्ने उनले सुझाए।झोलुङ्गे पुल निर्माणमा सबैभन्दा चुनौतीपूर्ण काम पुलको भारी लट्ठा तान्नु रहेको उनले बताए।
हेलिकप्टरबाट लट्ठा ढुवानी गर्ने सम्भावना नभएको भन्दै उनले विगतमा चतराबाट खोटाङ र भोजपुरतिर पुलको लट्ठा तान्दा जस्तै अक्करे भिरमा ३५/४० जना मानिसले काँधमा हालेरै लट्ठा पुर्याउनुपर्ने अवस्था रहेको बताए।
यस महाअभियानलाई सफल बनाउन उनले आर्थिक सहयोगको समेत अपेक्षा गरेका छन्। उनले सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न आग्रह गरे।



