सिरहा नगरक्षेत्रमा रहेको कालोपत्रे, पक्की सडक, ग्राभेल सडक, कृषि सडक सयौं किलोमिटर रहेको छ । नगरक्षेत्रका २२ वटै वडामा सडक निर्माण भएको छ । कालोपत्रेदेखि कृषि सडक निर्माणमा अर्बौ रुपैयाँ खर्च भएको छ । तर सडकको सुरक्षा र सुधारको विषय जहिले पनि प्राथमिकतमा रहँदै आएको छ । सिरहा नगरक्षेत्रमा कालोपत्र सडक बनेको धेरै समय भएको छैन् । करौडौं रकम खर्चिएर सडक बनाईएको छ । दातृ सरकारको सहयोग अन्र्तगत सिरहा सदरमुकाम केन्द्रित सडक निर्माण गरिएको छ । तराई मधेश समृद्धि कार्यक्रम, आरएआईडिपी जस्ता प्रोजेक्ट अन्र्तगत सडक निर्माण गरिएको छ । आसफास्ल्ट सडक निर्माण गरिएपनि अहिले सवैभन्दा चुनौतीको विषय सडकको सुरक्षा रहेको छ । सदरमुकाम सिरहालाई विभिन्न वडासँग जोड्न, सदरमुकाम सिरहाको दुई नम्बर सडक लगायतमा कालोपत्रे सडक निर्माण गरिएको छ । सडकको सुरक्षामा ध्यान दिन सकिएमा दशकौं टिकाउ हुने गरी निर्माण भएको छ । सडक निर्माण भएपनि अहिले सडकको सुरक्षामा स्थानीय सरकारले ध्यान दिन सकेको छैन् ।
जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकासँग प्रयाप्त स्रोत साधन नभएकोले पनि दातृ निकाय र नेपाल सरकारले निर्माण गरिदिएको सडकको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ । गुणस्तरीय र टिकाउ हुने गरी एक किलोमीटर आसफाल्ट सडक निर्माण गर्न करिब तीन करोड भन्दा वढी रुपैयाँ खर्चिनुपर्छ । त्यसरी महँगो सडक निर्माण भएको अवस्थामा सिरहा नगरपालिकाको वेवास्ताको कारणले सडक अतिक्रमित गर्ने कार्य भईरहेको छ । मुख्य सडक अहिले भद्रगोल अवस्थामा छ । आकर्षित र चिटिक्क सडक दुई नम्बर रोडसँगै विभिन्न वडामा रहेको छ । ती वडामा वडा कार्यालयहरु र समग्रमा सिरहा नगरपालिकाको वेवास्ताको कारणले जोखिममा रहेको छ । वडा कार्यालयहरुले आफ्नो वडा भित्र रहेको सडकको सुरक्षामा ध्यान नदिदा ढलको पानी सडकमा बनाउने काम भईरहेको छ । घरमा उपयोग गरिएको पानी सडकमा बगाउने, सडकमै पशु चौपाया बाँध्ने, गोबर, गोईठा, निर्माण सामग्री सडकमै राखेर सडकलाई क्षति पुर्याईरहेको छ ।

सिरहा नगरपालिकाको वडाहरुमा सडकलाई अतिक्रमित गर्ने काम तिव्र रुपमा भईरहेको छ । जसले गर्दा एकातिर सडक नै साँघुरिन पुगेको छ । अर्कोतिर सडक क्षेत्रलाई अतिक्रमित गर्दा सवारी दुर्घटनाको जोखिम पनि थपिदै गईरहेको छ । सडकमा पानी बगाउँदा कालोपत्र सडक नै कमजोर हुने अवस्थामा पुगेको छ । त्यही भएर सिरहा नगरपालिकाले तत्काल यस विषयमा पाईला चाल्नु पर्छ । सिरहा नगरपालिकाले नगरपालिका कार्यालयमा रहेको प्राविधिक कर्मचारीलाई तत्काल परिचालन गरी करौडौं लागतमा निर्माण सम्पन्न भएको सडकको यर्थात अवस्था बुझ्नु पर्छ । यसले सडकमा भईरहेको क्षतिलाई रोक्न सकिन्छ । भोलीका दिनमा सडक मर्मतका नाउँमा नगरपालिकालाई आर्थिक भार बोक्नुपर्ने अवस्थाको अन्त हुन सक्छ । एकातिर कम बजेटका कारणले पूँजिगत खर्च गर्न नसक्ने अवस्था छदैछ । अर्कोतिर महँगो मूल्यमा निर्माण भएको सडक समान्य रेखदेख र निगरानीमा वेवास्ताका कारणले टुटफुट र खाल्डाखुल्डीमा परिणत भएपछि त्यसको मर्मतमा नगरपालिकाको आफ्नो आर्थिक क्षमताले भ्याउने अवस्था हुँदैन् । यस कारणले सिरहा नगरपालिकाले तत्काल यस विषयलाई गम्भीरताका साथ लिदै सडकको सुरक्षामा जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेको निर्माण सामग्री, पानी बगाउने, गोबर गोईठा भण्डार गर्ने, पशुचौपाया बाध्ने जस्ता कार्यलाई रोक लगाउनु पर्छ । यसमा सिरहा नगरपालिकाको महत्वपूर्ण भूमिकाको आवश्यकता छ । आफैंले विगतमा गरेको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउने दायित्व पनि नगरपालिकासँग रहेको छ ।



