१५ सय लिटर कच्चा पदार्थ नष्ट, ११ बोरा सख्खर, चार मेसिनसहित मदिरा उत्पादनमा प्रयोग हुने उपकरण बरामद
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर नहर क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका तीनवटा भट्टी प्रहरीले नष्ट गरेको छ ।
विशेष सूचनाका आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भट्टीहरूमा छापा मारेको हो ।

प्रहरीका अनुसार स्थानीय वडा अध्यक्ष, वडा सदस्य तथा स्थानीयवासीको रोहवरमा अवैध रूपमा सञ्चालनमा रहेका तीनवटा मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको हो । सो क्रममा ड्रम तथा कसौंडीमा राखिएको करिब एक हजार पाँच सय लिटर कच्चा पदार्थसमेत घटनास्थलमै पोखेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ११ बोरा सख्खर, चारवटा मदिरा बनाउने मेसिन, दुईवटा डिजिटल तराजु, छवटा ठूला र चारवटा साना गरी १० वटा कसौंडी तथा १३ वटा ड्रम बरामद गरेको छ ।
भट्टी सञ्चालनमा संलग्न व्यक्तिहरू प्रहरी टोली पुग्नुअघि नै फरार भएकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय