तीन वर्षदेखि व्यक्तिगत रूपमा माछा मारिएको जनप्रतिनिधिको दाबी, छानबिन गर्न प्रशासनद्वारा गाउँपालिकालाई पत्राचार
शुभ नारायण कामती
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–३ रजोखैरस्थित करिब सात बिघा क्षेत्रफलमा फैलिएको सार्वजनिक ‘बडकी पोखरी’ मा अनधिकृत रूपमा माछा मारिएको आरोप लगाउँदै जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् ।
विष्णुपुर गाउँकार्यपालिका सदस्य रामकिशोर साफी र वडा सदस्य अशोककुमार यादवले मंसिर २ गते संयुक्त निवेदन दिँदै सार्वजनिक पोखरीमा अनुमति तथा ठेक्का प्रक्रियाबिना माछा मारिएको र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको आरोप लगाएका हुन् ।
उनीहरूका अनुसार स्थानीय सन्तोष यादवले विगत तीन वर्षदेखि गाउँपालिका वा वडा कार्यालयको अनुमति तथा ठेक्का प्रक्रियाबिना पोखरीमा माछा मार्दै आएका छन् । उक्त कार्य रोक्न वडा अध्यक्ष जयकुमार यादव र गाउँपालिका अध्यक्ष सत्यनारायण यादवलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरूको दाबी छ । बरु आफूहरूलाई विभिन्न किसिमका धाकधम्की दिइएको आरोपसमेत निवेदनमा लगाइएको छ ।
निवेदकहरूले पोखरीबाट मारिएका माछाको मूल्यबराबरको क्षतिपूर्ति गाउँपालिकाको खातामा जम्मा गराउन, सार्वजनिक पोखरीको नियमानुसार ठेक्का प्रक्रिया अघि बढाउन तथा ठेक्का पाउने व्यक्तिलाई चलनपुर्जी उपलब्ध गराउन माग गरेका छन् । साथै, सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्नमाथि आवश्यक कानुनी कारबाही गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
उक्त उजुरी जिल्ला प्रशासन कार्यालय सिरहामा मंसिर ३ गते दर्ता नम्बर १९४४ मा दर्ता भएको छ । उजुरी प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले घटनाको वास्तविक अवस्था र हालसम्म भएका कामकारबाहीबारे स्पष्ट प्रतिवेदन पेस गर्न विष्णुपुर गाउँपालिकालाई पत्राचार गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको पत्र प्राप्त भएपछि गाउँपालिकाले पनि सार्वजनिक पोखरीको प्रयोगसम्बन्धी सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यदेव लोहारले मंसिर ३ गते जारी गरेको सूचनामा बडकी पोखरीसहित गाउँपालिकाअन्तर्गतका सार्वजनिक पोखरीहरू ठेक्का प्रक्रियामा नगई व्यक्तिगत रूपमा प्रयोग भइरहेको भन्ने मौखिक गुनासो तथा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी प्राप्त भएको उल्लेख छ ।
गाउँपालिकाले ठेक्का बन्दोबस्त प्रक्रियामा नगएका सार्वजनिक पोखरीहरू गैरकानुनी रूपमा प्रयोग नगर्न तथा नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ । सूचनाको अवज्ञा गरी सार्वजनिक पोखरी व्यक्तिगत रूपमा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि गाउँपालिकाले जनाएको छ ।
यता, गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले पोखरी ठेक्काका लागि गाउँपालिकाले पटक–पटक सूचना प्रकाशित गरे पनि कसैले ठेक्का लिन चासो नदेखाउँदा गाउँपालिकाभित्रका पोखरीहरू ठेक्काबिना नै रहेको बताए ।
उनका अनुसार गत वर्ष छठ पर्वका बेला स्थानीयवासीको पहलमा बडकी पोखरी सफा गरिएको थियो । स्थानीय सन्तोष यादवले आफ्नै पहलमा पोखरीमा माछाका भुरा हाल्ने र हुर्किएपछि माछा मार्ने गरेको आफूले पनि सुनेको अध्यक्ष यादवले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट उजुरीसम्बन्धी पत्र प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई घटनाको सत्यतथ्य बुझेर आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनले जानकारी दिए । सार्वजनिक पोखरीको ठेक्का प्रक्रिया पनि अघि बढाउन भनिसकेको अध्यक्ष यादवको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया लिन गाउँपालिका–३ का वडाध्यक्ष जयकुमार यादव र आरोपित सन्तोष यादवसँग फोन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।
सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र त्यसबाट प्राप्त हुने आम्दानीको पारदर्शिता कायम गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । तर, वर्षौंदेखि सार्वजनिक पोखरी ठेक्काबिना प्रयोग भइरहेको र त्यसबाट प्राप्त हुने आम्दानीको व्यवस्थापनबारे प्रश्न उठेपछि प्रशासनमा परेको उजुरीले स्थानीय तहको सम्पत्ति व्यवस्थापनमाथि समेत चासो बढाएको छ । अब प्रशासनको पत्राचारपछि हुने छानबिन र गाउँपालिकाले अघि बढाउने ठेक्का प्रक्रियाले पोखरीको वास्तविक अवस्था तथा माछा मारिएको विषयमा थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।





