महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा, विजेतालाई नगद पुरस्कारसहित सम्मान
सिरहा । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउँदै युवापुस्तालाई स्वस्थ र सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले सिरहामा शनिबार ‘सिरहा रन’ दौड प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाली कांग्रेस नगर समिति सिरहाको आयोजनामा ‘से नो टु ड्रग्स’ (लागूऔषधलाई नाइँ भनौँ) भन्ने नारासहित आयोजित प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वटै वडाका युवायुवती सहभागी भएका थिए । आयोजकका अनुसार प्रतियोगितामा ६९ जना युवती र ३०० जना युवा गरी कुल ३६९ जनाको सहभागिता रहेको थियो ।
शनिबार बिहान सिरहाको महावीर चोकबाट सुरु भएको दौड जिल्ला प्रहरी कार्यालय परिसरस्थित सहिद रमेश ठाकुर पार्कमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
युवतीतर्फ सिरहा नगरपालिका–२ की स्वीटी कुमारी यादव प्रथम, वडा नम्बर ९ की पुनिता कुमारी यादव द्वितीय र वडा नम्बर ७ की स्नेहा यादव तृतीय भएका छन् । त्यस्तै, युवातर्फ विष्णुपुर गाउँपालिका–३ राजपुरका मनिषकुमार यादव प्रथम, सिरहा नगरपालिका–१८ का नन्दन यादव द्वितीय र वडा नम्बर १९ का देवानन्द यादव तृतीय भएका छन् ।
प्रतियोगितामा दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार एक सय, तीन हजार एक सय र दुई हजार एस रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय युवापुस्तामा बढ्दै गएको लागूऔषध दुव्र्यसनको जोखिमलाई ध्यानमा राख्दै खेलकुदमार्फत सामाजिक जागरण फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । दौडका माध्यमबाट युवालाई लागूऔषधको कुलतबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा खेलकुद र सिर्जनात्मक गतिविधिमा सक्रिय हुन सन्देश दिइएको थियो ।
प्रतियोगितामा सहभागी प्रिया यादवले युवायुवतीलाई लागूऔषध दुव्र्यसनबाट जोगाउन यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताइन् । युवालाई खेलकुद तथा सकारात्मक गतिविधिमा जोड्ने आयोजकको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शम्भु साहले सिरहा जिल्लामा लागूऔषध दुव्र्यसनको जोखिमबाट युवापुस्तालाई जोगाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए । समुदायस्तरमा जनचेतना फैलाउन सके लागूऔषध नियन्त्रणको प्रयास प्रभावकारी बन्ने उनले उल्लेख गरे ।

नेपाल बार एसोसिएसन सिरहाका पूर्वअध्यक्ष अधिवक्ता वीरेन्द्रकुमार सिंहले कार्यक्रममा लागूऔषध सेवन तथा कारोबारसम्बन्धी कानुनी व्यवस्था र प्रचलित ऐन–कानुनबारे जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले पनि लागूऔषध दुव्र्यसनका असर र नियन्त्रणका उपायबारे धारणा राखेका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी डा. सुभाषचन्द्र यादवले लागूऔषधविरुद्धको अभियानलाई नगरपालिकाका सबै वडासम्म विस्तार गर्नुपर्नेमा जोड दिए । युवापुस्तालाई दुव्र्यसनबाट जोगाउन समुदाय, अभिभावक, सुरक्षा निकाय र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
लागूऔषध दुव्र्यसनले व्यक्तिको स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक जीवनमा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि जनचेतनासँगै उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
आयोजक नेपाली कांग्रेस नगर समिति सिरहाले ‘सिरहा रन’ लाई खेलकुद प्रतियोगितामा मात्र सीमित नराखी लागूऔषधविरुद्धको सामाजिक अभियानका रूपमा निरन्तरता दिने जनाएको छ ।




