सिरहा । गोलबजार उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सचिव पदमा सुनिल कुमार सिंह निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएपछि सिंहले सार्वजनिक शौचालय निर्माण र बजार व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।
निर्वाचन अधिकृतले निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले गोलबजारका व्यापारी तथा उपभोक्ताले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
बजार व्यवस्थापन र व्यापारीका साझा समस्या समाधानको विषय आफूले यसअघि पनि उठाउँदै आएको उल्लेख गर्दै सिंहले आफ्नो निर्विरोध निर्वाचित हुनुलाई व्यक्तिगत उपलब्धिभन्दा समग्र व्यापारीको उपलब्धिका रूपमा लिएको बताए ।
‘यो मेरो व्यक्तिगत जित होइन, समग्र व्यापारीको जित हो,’ उनले भने, ‘गोलबजारमा सार्वजनिक शौचालयको अभाव प्रमुख समस्याका रूपमा रहेको छ । यसको निर्माण तथा व्यवस्थापनका लागि पहल गर्नुका साथै बजारलाई व्यवस्थित बनाउने र व्यापारीका साझा समस्या समाधान गर्न मेरो प्रयास रहनेछ ।’
यसरी भए सिंह निर्विरोध
गोलबजार उद्योग वाणिज्य संघको निर्वाचनका लागि गत कात्तिक २५ गते उम्मेदवारी दर्ता भएको थियो । सचिव पदमा महेश साह (कोक्वा) नेतृत्वको प्यानलबाट सुनिल कुमार सिंह र राकेश गुप्ता नेतृत्वको प्यानलबाट टेकलाल नायक (पवन) ले उम्मेदवारी दर्ता गराएका थिए ।
कात्तिक २६ गते उम्मेदवारी फिर्ता लिने क्रममा नायकले सुरुमा निर्वाचन कार्यालयमा निवेदन दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । तर, केही घण्टापछि पुनः अर्को निवेदन दिँदै उम्मेदवारी कायम राख्न माग गरेका थिए ।
निर्वाचन कार्यालयले सुरुमा दर्ता भएको उम्मेदवारी फिर्तासम्बन्धी निवेदनका आधारमा नायकको उम्मेदवारी कायम नरहने निर्णय गरेपछि सिंह सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएपछि सिंहले पदभन्दा पनि गोलबजारको बजार व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण र व्यापारीका साझा समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।





