मुकेश यादव
सिरहा । गोलबजार उद्योग व्यापार संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राकेश प्रसाद गुप्ताको प्यानल थप बलियो बन्दै गएको छ। अध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारले गुप्ता प्यानललाई समर्थन गर्ने प्रतिबद्धता जनाएसँगै उनको पक्षमा चुनावी माहोल थप बलियो बनेको हो।
संघको अध्यक्ष पदका लागि दुईवटा प्यानलसहित राकेश प्रसाद गुप्ता र महेश साह (कोक्वा) चुनावी मैदानमा उत्रिएका थिए। त्यसैगरी, त्रिदेव साह र सुशील अग्रवालले प्यानलबिना अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए।
तर, अध्यक्ष पदका उम्मेदवार त्रिदेव साह र सुशील अग्रवाल दुवैले गुप्ताको प्यानललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्रिदेव साहले उम्मेदवारी फिर्ता लिने क्रममा नै गुप्ता प्यानललाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। यता, उम्मेदवारी कायम राखेका सुशील अग्रवालले पनि आजदेखि गुप्ता प्यानललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष पदका दुई उम्मेदवारको समर्थन प्राप्त भएपछि गुप्ता प्यानलको चुनावी शक्ति थप बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ। उनीहरूको समर्थनले निर्वाचनको समीकरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।
चार जनाको उम्मेदवारीबाट सुरु भएको अध्यक्ष पदको प्रतिस्पर्धामा दुई उम्मेदवारको समर्थन गुप्तातर्फ केन्द्रित भएपछि गोलबजार उद्योग वाणिज्य संघको निर्वाचन थप रोचक बन्दै गएको छ। अब अन्तिम निर्णय भने व्यवसायी मतदाताको हातमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय