सिरहा । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले व्रतालु तथा श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै थप एक दिन बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले जारी गरेको सूचनामार्फत सम्बन्धित सबैलाई कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा रहने जानकारी गराएको छ ।
यस निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।





