नहाय–खाय विधिसँगै चारदिने पर्व आरम्भ, गाउँबस्तीमा छठी गीत गुञ्जिन थाले
सिरहा । मिथिला क्षेत्रमा श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महापर्व छठ आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने पर्वको सुरुवात पहिलो दिनको ‘नहाय–खाय’ विधिबाट भएको हो ।
छठ पर्व सुरु भएसँगै सिरहासहित मिथिला क्षेत्रका गाउँबस्तीमा छठी गीत गुञ्जिन थालेका छन् भने नदी, पोखरी, तलाउ तथा अन्य जलाशयका घाटहरू सजाउने र घरघरमा पूजाको तयारी गर्ने क्रम बढेको छ ।
सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी चोखोनितो भोजन गर्छन् । व्रतको सङ्कल्पसहित गरिने यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।
पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको खीरसहितका प्रसाद ग्रहण गरी ‘खरना’ विधि सम्पन्न गर्छन् । खरना सम्पन्न गरेपछि व्रतालुले मुख्य अघ्र्य नदिएसम्म निर्जला व्रत बस्ने परम्परा छ ।
छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य अर्पण गर्छन् । मिथिला क्षेत्रमा यस विधिलाई ‘साँझका अरख’ भनिन्छ । यसका लागि व्रतालु तथा श्रद्धालुहरू पूजासामग्रीसहित नदी, पोखरी र तलाउका घाटमा पुग्ने गर्छन् ।
षष्ठीको राति पूजास्थल तथा घाटमा जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा प्रयोग गरिएका पूजासामग्रीसहित पुनः उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्वको समापन हुन्छ । यस विधिलाई ‘भोरका अरख’ भनिन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत सम्पन्न गर्छन् ।
छठका लागि पूजा सामग्री तथा प्रसाद तयार गर्दा चोखोनितो र शुद्धतालाई विशेष महत्त्व दिने परम्परा छ । ढिकी–जाँतोमा परम्परागत रूपमा कुटेर तथा पिसेर तयार गरिएको गहुँ र चामलको पिठोबाट बनाइने ठकुवा, भुसुवा, कसारलगायतका परिकार प्रसादका रूपमा चढाइन्छन् । त्यस्तै, उखुका लाँक्रा, मौसमी फलफूल र माटाका भाँडामा जमाइएको दहीसमेत अघ्र्यका सामग्रीका रूपमा प्रयोग गरिन्छन् ।
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित छठ पर्वको तयारीसँगै अहिले यस क्षेत्रका नदी, तलाउ, पोखरी तथा कुण्डका घाटहरू सिँगारिँदै छन् । घरघरमा पूजाका सामग्री तयार गर्ने, छठी गीत गाउने र घाट व्यवस्थापन गर्ने गतिविधिले मिथिला क्षेत्र छठमय बनेको छ ।
सामाजिक सद्भाव, पारिवारिक सुख, समृद्धि तथा सन्तानको दीर्घायुको कामनासँग जोडिएको छठ पर्वमा जातीय तथा सामुदायिक भेदभावभन्दा माथि उठेर विभिन्न समुदायका मानिसको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय