मिर्चैया । सिरहाको व्यापारिक केन्द्र मिर्चैयास्थित कटारी चोकमा अटो तथा सिटी सफारीको अव्यवस्थित पार्किङ र सञ्चालनका कारण बजारको आवागमन प्रभावित भएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् । साँघुरो सडकमा जथाभावी सवारीसाधन रोक्दा ग्राहकलाई बजार आउजाउ गर्न कठिनाइ हुनुका साथै व्यापार व्यवसायसमेत प्रभावित भएको उनीहरूको भनाइ छ ।
स्थानीय व्यापारीहरूका अनुसार पार्किङ निषेधित क्षेत्रमा समेत अटो तथा सिटी सफारी रोक्ने गरिएको छ । यसले पैदलयात्री र अन्य सवारीसाधनको आवागमनमा अवरोध सिर्जना गर्नुका साथै पसलमा आउने ग्राहकलाई समेत असहज बनाएको छ ।

एक स्थानीय पसलेका अनुसार ग्राहकको सहज आवागमन नहुँदा व्यापार सञ्चालनमा कठिनाइ भइरहेको छ । कतिपय अवस्थामा अटो तथा सिटी सफारी चालकले यात्रु वा ग्राहकलाई आफ्नो सवारीमा चढाउन तानातान गर्ने गरेको उनको गुनासो छ ।
होटल तथा लज व्यवसायीहरू पनि बजारको अव्यवस्थित अवस्थाबाट प्रभावित भएको बताउँछन् । बाहिरबाट आएका यात्रु तथा ग्राहक सहज रूपमा बजारमा रोकिन र किनमेल गर्न नसक्ने अवस्था बनेमा होटल, लज तथा अन्य व्यवसायमा समेत असर पर्ने उनीहरूको भनाइ छ ।

चाडपर्वमा समेत व्यापार अपेक्षाअनुसार भएन
व्यापारीहरूका अनुसार अटो तथा सिटी सफारीको अव्यवस्थित पार्किङ र सञ्चालनका कारण बजारमा किनमेल गर्न आउने ग्राहकलाई असहज भइरहेको छ । दसैँजस्ता ठूला चाडपर्वमा समेत अपेक्षाअनुसार व्यापार हुन नसकेको उनीहरूको गुनासो छ ।
आगामी दीपावली तथा छठ पर्वलाई ध्यानमा राख्दै बजार व्यवस्थापनमा तत्काल सुधार गर्नुपर्ने उनीहरूको माग छ । व्यापारीहरूले कटारी चोकमा जथाभावी पार्किङ रोक्न, सवारीसाधनको रुट तथा सञ्चालन समय व्यवस्थित गर्न र ग्राहकलाई सहज रूपमा बजार आवतजावत गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
केही व्यापारीले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बजारबाट बाहिर जाने अटो तथा सिटी सफारीको सञ्चालन व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । बजारको चापलाई ध्यानमा राखेर सवारी सञ्चालन र पार्किङ व्यवस्थापन गर्न सके आवागमन सहज हुने उनीहरूको भनाइ छ ।

रुटसम्बन्धी नियम कार्यान्वयनमा प्रश्न
जिल्ला ट्राफिक कार्यालय लहानका अनुसार सिटी सफारी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने र त्यसको व्यवस्थापन सम्बन्धित नगरपालिकाले गर्ने व्यवस्था छ ।
स्थानीयका अनुसार मिर्चैयाबाट उदयपुरको कटारी करिब २६ किलोमिटर र सिन्धुलीको दुधौली करिब ३० किलोमिटर टाढा पर्छन् । यस अवस्थामा अटोको निर्धारित सञ्चालन क्षेत्र र वास्तविक आवागमनबीचको अवस्थाबारे प्रभावकारी अनुगमन हुनुपर्ने उनीहरूको माग छ ।
मिर्चैया मधेश प्रदेशमा, कटारी कोशी प्रदेशमा र दुधौली बागमती प्रदेशमा पर्ने भएकाले अन्तरजिल्ला तथा अन्तरप्रदेशमा सञ्चालन हुने अटोको रुट, अनुमति र कागजातसम्बन्धी व्यवस्था स्पष्ट गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने स्थानीयको भनाइ छ ।
यसैबीच, केही अटो चालकसँग आवश्यक सवारीचालक अनुमतिपत्र तथा कागजात नभएको र उदयपुरको बेलसोत क्षेत्रमा ट्राफिक प्रहरीसँगको मिलेमतोमा सवारी सञ्चालन हुने गरेको आरोपसमेत एक स्रोतले लगाएको छ । स्रोतले चालकबाट मासिक रूपमा रकम उठाउने गरिएको दाबीसमेत गरेको छ । यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यस विषयमा उदयपुर ट्राफिक प्रहरी सित प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

पटक–पटक गुनासो गर्दा पनि समाधान नभएको व्यापारीको भनाइ
स्थानीय व्यापारी तथा बासिन्दाले अव्यवस्थित पार्किङ र अटो तथा सिटी सफारीको सञ्चालनबारे सम्बन्धित निकाय तथा ट्राफिक प्रहरीलाई पटक–पटक जानकारी गराए पनि प्रभावकारी समाधान नभएको गुनासो गरेका छन् ।
उनीहरूले कटारी चोकमा जथाभावी पार्किङ नियन्त्रण गर्न, बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, अटो तथा सिटी सफारीको रुट र सञ्चालन समय व्यवस्थित गर्न तथा नियमविपरीत सञ्चालन हुने सवारीसाधनमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।
व्यापारीहरूको मुख्य माग बजारको सडकलाई व्यवस्थित बनाउनु, सवारीसाधनको आवागमन सहज बनाउनु र बाहिरबाट आउने ग्राहक तथा यात्रुले सहज रूपमा बजारमा किनमेल तथा अन्य सेवा लिन सक्ने वातावरण तयार गर्नु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय