सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिरहा नगर कमिटीको नगरस्तरीय एकता भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका–७ स्थित पञ्चमुखी हनुमान मन्दिर नजिकको सभाहलमा आयोजित भेलामा पार्टीका नेता, नगर कमिटीका पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
भेलामा पार्टीको संगठनात्मक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल भएको आयोजकले जनाएको छ । सहभागी नेताहरूले नगरस्तरमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै स्थानीय तहमा संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा धारणा राखेका थिए ।

त्यसैगरी, पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने तथा आगामी दिनमा संगठनका गतिविधिलाई थप सक्रिय रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
भेलाले पार्टी संगठनलाई एकताबद्ध रूपमा अघि बढाउँदै नगरस्तरमा आगामी राजनीतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय गर्ने विषयमा जोड दिएको थियो । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताबीच शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।
तीन जना नेकपामा प्रवेश
भेलाका क्रममा सिरहा नगरपालिका–१४ का दुई स्थानीय नेता तथा एक समाजसेवी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिका–१४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र मण्डल नेकपामा प्रवेश गरेका हुन् ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) का मो. निरुल अमिन र समाजसेवी मुसा राइन पनि नेकपा पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
नवप्रवेशी मण्डल, अमिन र राइनलाई पार्टीका नेताहरूले स्वागत गर्दै संगठन निर्माण तथा आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
यसैबीच, भेलाले सिरहा नगर कमिटीलाई १५१ सदस्यीय बनाउँदै नगर कमिटीलाई पूर्णता दिएको आयोजकले जनाएको छ ।



