शुभ नारायण कामती
सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित बलान खोला क्षेत्रमा सशस्त्र प्रहरीले १२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार शनिबार साँझ करिब ७ः३० बजे पूर्व–पश्चिम राजमार्गमा सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद भएको हो ।
सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बलान खोला क्षेत्रमा चेकपोइन्ट राखेर सार्वजनिक यातायातका सवारीसाधन जाँच गर्ने क्रममा लहान नगरपालिका–११, पडहरियाका २४ वर्षीय अजय सदायले बोकेको झोलाबाट गाँजा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गाँजाको तौल १२ किलो रहेको छ । गाँजासहित पक्राउ परेका सदायलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




