शुभ नारायण कामती
सिरहा । सिरहाको औरही गाउँपालिका–१, दरैया क्षेत्रबाट सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार शनिबार बिहान करिब १ः३५ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर गाँजा लैजाँदै गरेका तीन जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले उनीहरूलाई ६ बोरामा रहेको ११० किलो ७६० ग्राम गाँजासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२, देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई गाँजासहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




