सिरहा । लगातारको वर्षा र बिहीबार राति आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडा अध्यक्ष तथा किसान गोपिन्द्र यादवको उखुखेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण करिब दुई बिघा क्षेत्रफलमा लगाइएको उखु ढलेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने चिन्ता यादवले व्यक्त गरेका छन् ।
यादवले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उखुखेतीमा भएको क्षतिबारे जानकारी गराएका हुन् । उनका अनुसार उनले जग्गा भाडामा लिएर करिब तीन बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । लगातारको वर्षा र हावाहुरीका कारण उखुका बोटहरू लडेपछि खेतीमा ठूलो क्षति पुगेको हो ।
यादवका अनुसार उखु खेतीमा ऋण तथा सापटी लिएर करिब चार लाख रुपैयाँ लगानी गरेका थिए । उखुको उत्पादन राम्रो भएको अवस्थामा करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा थियो । तर, हावाहुरी र वर्षाले उखु ढलेपछि लगानीसमेत फिर्ता नहुने अवस्था आएको उनले बताएका छन् ।
‘जसोतसो जग्गा भाडामा लिएर उखु लगाएको थिएँ । राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो,’ यादवले भने, ‘अब त लगानी पनि नउठ्ने भयो । खेतीबाटै घरपरिवार चलाउँदै आएको थिएँ, अब परिवार चलाउनै मुस्किल हुने अवस्था आयो ।’
यादव विष्णुपुर गाउँपालिका–१ का पूर्ववडा अध्यक्षसमेत हुन् । निर्वाचनमा पराजित भएपछि उनी पुनः कृषि कर्ममा फर्किएका छन् । कृषि पेसामै निर्भर यादवले प्राकृतिक विपद्का कारण उखु खेतीमा क्षति पुगेपछि आर्थिक समस्या थपिने चिन्ता व्यक्त गरेका छन् ।




