जिल्ला अदालत कास्कीर्‍यापर लाउरे
पक्राउ परेका आरोपितहरू। तस्बिर: जिल्ला प्रहरी कार्यालय कास्की।

लागुऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीले लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

‘उनीमाथि थप अनुसन्धान गर्न २१ गतेदेखि लागु हुने गरी १७ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ थापाले भने।

प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका-८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो।

उनीसँगै पोखरा-२१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका हुन्।

उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

जाल्पारोडमा ब्राउनसुगर खरिद-बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

टोलीले उनीहरूलाई बाटोमा फेला परी चेकजाँच गर्दा ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो। त्यसबारे उनीहरूमाथि सोधपुछ गरी प्रहरी सभागृहस्थितमा रहेको सुस्मिताको कोठामा पुगेको थियो।

त्यहाँ लुकाएर राखेको थप १२.५० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ। प्रहरीले उनीहरूबाट एउटा डिजटल तराजु, ३८ हजार ३५० रुपैयाँ, ५ वटा मोबाइल र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ।

प्रहरीले यसमा लाउरेको संलग्नता के कस्तो हो भन्नेबारे खुलाएको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

र्‍यापर लाउरेसहित चार जनाबाट बरामद भएको ब्राउनसुगर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!