
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक र कर्मचारी आन्दोलित भएका छन् । विद्यालय बन्द गरी शिक्षक र कर्मचारीहरु कल्याणपुर नगरपालिकाको प्रशासनिक भवन अगाडी धर्नामा बसेका छन् ।
चाड पर्व आएपछि आफूहरुको तलबभक्ता नदिएको भन्दै उनीहरुले यस अघि ध्यानाकर्षण गराउँदै आजदेखि अनिश्चितकालिन धर्ना सुरु गरेको छ । चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै धर्ना सुरु गरेका शिक्षक कर्मचारीले विद्यालयको पठन पाठन बन्द गरेको छ । आन्दोलन संचालन समितिका संयोजक रहेका रामपुकार रायले कल्याणपुर नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभक्ता भुक्तानी नगरेपछि दबाब दिन विद्यालय बन्द गरी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले नगरसभा नहुँदा नगरपालिकाको खाता संचालन नभएकोले कर्मचारी र शिक्षकको तलबभक्ता रोकिएको बताए । ‘खाता संचालन भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत दासले भने, ‘नगरसभा नहुँदा शुत्र प्रणाली लागू भएकोले खाता संचालन गर्ने अख्तियारी नै प्राप्त भएको छैन् ।’
शिक्षक कर्मचारी नै आन्दोलनमा उत्रेपछि कल्याणपुर नगरपालिका क्षेत्रका ६ माध्यमिक विद्यालय सहित २९ विद्यालयका करिब ७ हजार बालबालिकाको पठनपाठन प्रभावित बनेको छ । कोरोना कारणले थला परेको विद्यालय क्षेत्रमा शिक्षक कर्मचारीको आन्दोलनले गर्दा झन् उभो लाग्न कठिन हुने जानकारहरु बताउँछन् ।