धनुषा । जनकपुरस्थित मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयमा शिक्षक भर्नाको विवादले पठनपाठन अवरुद्ध भएको छ । विश्वविद्यालयमा करारमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् । भदौ ८ देखि पठनपाठन ठप्प गरी ३५ जना पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक धर्नामा बसेका हुन् ।

स्थापनाकालमा कोर्स कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रेको विश्वविद्यालयको पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।

दुई वर्षदेखि राजर्षी जनक विश्वविद्यालयमा २६ जना शिक्षकको दरबन्दी खाली छ । तर पटकपटक त्यसमा भर्ना गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाइ नगरेको उनले बताए । राजर्षी जनक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भए पनि व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो देखाएको छैन । पेपर करारमा कार्यरत शिक्षक करारमा नियुक्तिको माग गर्दै गत साउन २४ देखि २९ गतेसम्म पहिलो चरणमा कालोपट्टी बाँधेर पठनपाठन सुचारु नै राखेका थिए ।

शिक्षकहरू भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरी डिन कार्यालयको मूलगेटमा धर्ना बसेका छन् । शिक्षकहरूले प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका छन् । माग पूरा नभए थप कडा संघर्षमा उत्रने शिक्षक अशोक साहले बताए । राजर्षी जनक विश्वविद्यालय उपकुलपति भरत झा र रजिस्ट्रार महेन्द्रप्रसाद यादव दुवैले कार्यकारिणी समितिको निर्णयलाई अटेर गर्दै मनलाग्दी शिक्षक भर्ना गर्न थालेपछि विश्वविद्यालयमा पेपर करारमा कार्यरत शिक्षकहरू लामो समयदेखि आन्दोलित भएको विश्वविद्यालयका कर्मचारीको आरोप छ ।

शिक्षक भर्ना विवादमा विश्वविद्यालयका पदाधिकारीहरू विभाजित भएका छन् । विश्वविद्यालयका डिन जुगेश्वर साहले आन्दोलनरत शिक्षकको माग जायज रहेको बताए । करारमा राख्नका लागि कार्यकारिणी बैठक बोलाउनका लागि भने पनि उपकुलपति र रजिस्ट्रार दुवै जना सम्पर्कविहीन बनेको उनले बताए ।

गत वैशाख १४ गते ५ जना शिक्षक करारमा भर्नाका लागि विश्वविद्यालयले विज्ञापन निकालेपछि कलेजमा पेपर कन्ट्रयाक्टलाई करारमा नगरी अझै थप्नु गलत रहेको भन्दै विश्वविद्यालयका डिनले आपत्ति जनाएपछि विज्ञापन रद्द भएको थियो । वैशाख १३ गते विशेष टिप्पणीका आधारमा फेरि ५ जना कर्मचारीका लागि करार नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि आफूहरूले आन्दोलन सुरु गरेको शिक्षक संघका सचिव राजले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!