सुरक्षित बेटी

प्रदेश २ मा ‘सुरक्षित बेटी’ अभियानका नाममा करोडौँ भ्रष्टाचार भएको पाइएको छ । प्रदेश २ सरकारले २०७६ माघ २० गतेदेखि ‘सुरक्षित बेटी’ अभियान सञ्चालनमा ल्याएको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘महिला हिंसाविरुद्ध शून्य सहनशीलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ यो अभियान सुरु गरेको थियो । अभियानले छोरीहरुलाई सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्धको ऐन कानुनबारे जानकारी गराउँदै परिवारमा छोरीलाई मजबुत बनाउने वातावरण तयार गर्न आह्वान गर्नेलगायतका उद्देश्य बोकेको थियो ।

प्रदेशको प्रत्येक विद्यालयमा आत्मरक्षाका निम्ति छोरीहरुलाई प्रशिक्षण समेत दिइने यसको मुख्य उद्देश्य थियो । यसुसँगै छोरीलाई लक्षित गरी बेटी पढाउ, बेटी बचाउ, छोरी शिक्षा बिमाजस्ता अभियान पनि चलाइएको थियो ।

प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट छुट्याएर यो अभियान सञ्चालनमा ल्याए पनि महिला हिंसा, बलात्कारलगायत घटनामा कमी भने आउन सकेन । तर, यस्ता कार्यक्रमका नाममा भ्रष्टाचारले भने पक्कै प्रश्रय पायो ।

अभियानमा गरिएको खर्च अहिलेसम्म पारदर्शी गरिएको छैन । तत्कालीन मन्त्री ज्ञानेन्द्रकुमार यादव निकटका व्यक्तिहरुलाई योजना वितरण गर्ने काम मात्रै अभियानअन्तर्गत गरिएको मन्त्रालयका एक कर्मचारीले बताए ।

तत्कालीन मन्त्री यादवले प्रदेशका विभिन्न जिल्लामा आफ्नो फोटोसहित ठूलाठूला होर्डिंग बोर्ड झुण्ड्याएका छन् भने विभिन्न तालिम र टिसर्ट खरिदका नाममा योजनाको रकम झ्वाम पारिएको छ ।

युवा अभियन्ता सरोजकुमार मिश्रले योजनामा भएको खर्चको विवरण माग गरेपनि कर्मचारीहरुले खर्चको विवरण सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् । मिश्रलाई योजनाको प्रतिवेदन भनेर एक पानाको सूचना दिइएको छ ।

सो प्रतिवेदनमा यस प्रदेशभित्रका छोरी चेलीहरुलाई सुरक्षित महसुस गराउन सुरक्षित बेटी अभियान र दुर्व्यसनीहरुलाई दुर्व्यसनमुक्त गराउन तथा यसको थप नाकारात्मक प्रभाव रोक्न दुर्व्यसनमुक्त युवा अभियान सञ्चालन गरिएको उल्लेख छ ।

प्रदेश २ का १३६ वटै स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी दीर्घकालीन रुपमा लैंगिक हिंसाविरुद्ध अभियान चलाउने प्रदेश सरकारको योजना थियो । यस अभियानले भयरहित वातावरण बन्ने विश्वास समेत लिइएको थियो ।

अभियानले महिला–पुरुषबीचको विभेदको खाडल पुर्ने विश्वास व्यक्त गरिए पनि मन्त्री र कर्मचारीको मिलेमतोका कारण यस अभियानमा भ्रष्टाचार मात्र भएको युवा अभियन्ता मिश्रले आरोप लगाए । -फरकधार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!