फाइल तस्वीर

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताए । १६ पुसमा बसेको समिति बैठकले कार्यविधि बनाएर छलफल, अन्तर्क्रिया र संवाद निरन्तर गरेपनि निष्कर्षमा पुग्न नसकिएको उनले बताए ।

‘छलफल गरेपनि हामी एउटा निर्णयमा पुग्न सकेनौं’ सदस्य साहले भने, ‘जे जति सहमति असहमति भएपनि कार्यकालको अन्तिम चरणमा रहेकाले नाम र राजधानी कुनै पनि हालतमा टुंग्याउनु जरुरी छ ।’

साहले प्रतिवेदन पेश गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भयो । यसपछि शुरु भएको बैठकमा नामाकरण र राजधानीबारे छलफल प्रारम्भ भयो । छलफलमा सांसदहरुले आ–आफ्नो दलको एजेन्डालाई दोहोर्‍याए । आफ्नो अडान छाड्न नसकिने उनीहरुको भनाइ थियो ।

आफ्नो अडान राख्ने क्रममा सांसदले सस्तो र महँगोबारे खुलेरै बहस गरेका छन् । खासगरी राजधानीको दुई वटा प्रस्तावमध्ये बीरगंजलाई राजधानी बनाउनुपर्ने बताउँदै आएका बारा र पर्साका सांसदले जनकपुर अहिले नै अत्यधिक महँगो रहेको र राजधानी भएपछि झनै महँगो बन्ने टिप्पणी गरे । बारा र पर्साका सांसदले दिएको यस्तो प्रतिकृयाको धनुषाका सांसदले प्रतिउत्तर दिएका छन् ।

विषयबाहिर बहस

प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि प्रारम्भ भएको छलफलमा सहभागी हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद प्रल्हाद गिरी गोस्वामीले जनकपुरधामको होटेल र लजहरुले लुटिरहेको बताए ।

‘आउने सन्ततीले कस्तो ठाएँमा राजधानी राख्यो भनेर गाली गर्छन्’ पर्साका सांसद गोस्वामीले भने, ‘म आफैं यहाँको महंगीको शिकार भएको छु ।’

आफू बस्नका लागि घर भाडाको कुरा गर्दा ११ हजारमा कुरा भएको र सामान लिएर जाँदा घरधनीले १३ हजार रुपैयाँ लाग्ने बताएको उनले बताए । ‘सामान लिएर गएको थिएँ, फेरि फिर्ता लिएर आउनुपर्थ्यो । त्यही भएर १३ हजार नै तिर्ने गरी बस्न थाले । पछि घरधनीले ३ महिनामै १५ हजार र ६ महिनामा २० हजार भाडा तोके ।’

यसबारेमा सोध्दा घरधनीले अब त यो राजधानी भइसक्यो त्यहीं भएर कोठा भाडा पनि महँगो भएको सुनाएको गोस्वामीको भनाइ छ  । उनले हाजमोलाको पनि दृष्टान्त दिए । भने, ‘वीरगञ्ज र अरु सबैतिर १ रुपैयाँमा पाइने हाजमोलाको सानो प्याकेटको यहाँ ५ रुपैयाँ असुली गरिएको छ ।’

यहीं भएर यो भन्दा सस्तो ठाउँ बीरगंजलाई राजधानी बनाउनुपर्ने उनले बताए ।

गोस्वामीको भनाईलाई साथ दिए कांग्रेस सांसद उपेन्द्र प्रसाद कुसवाहाले । सर्लाहीका सांसद कुसवाहाले भने, ‘सर्लाहीमा पाइने मूल्यभन्दा यहाँ डेढ् गुणा बढी लिइरहेको अवस्था छ ।’ उनले यसबारे गहन रुपमा छलफल गर्दै राजधानी जनकपुरधामलाई नै बनाउनुपर्ने बताए ।

सर्लाहीकै नेकपा एकीकृत समाजवादीका सांसद रबीन्द्र बैठाले जनकपुरधाम अन्य ठाउँ भन्दा धेरै महँगो रहेको बताए ।

पर्साकी जसपा सांसद करिमा बेगमले राजधानी बीरगंजलाई नै बनाउनुपर्ने बताइन् । उनले बीरगंज जनकपुरधामभन्दा बढी सस्तो रहेको बताइन् ।

एमाले सांसदको प्रश्न–कहाँ गयो प्रदेश सरकार ?

छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ ले व्यापारीले मूल्यवृद्धि गरेपछि रोक्ने काम कसको ? भनेर प्रश्न गरेका छन् । अरुलाई दोष दिएर आफू उन्मुक्ति पाउने काम सत्तारुढ दलले गरेको भन्दै मूल्यबृद्धि नियन्त्रण गर्न प्रदेश सरकारले किन गर्न सकिरहेका छैनन् ? भनेर अर्काे प्रश्न गरे ।

वीरगञ्ज भारतीय सीमासँग जोडिएको ठाउँ भएकाले त्यहाँ सामान सस्तो र जनकपुरधाममा महँगो भेटिनु स्वभाविक रहेको भन्दै धनुषाका सांसद उनले यस्तो भएपछि प्रदेश सरकारले नियन्त्रण गर्नुपर्नेमा जोड् दिए ।

वीरगंज राजधानी भए तीन जिल्ला बागमतीमा मिसाउने चेतावनी

प्रदेश सभामा छलफलमा सहभागी भएका बारा र पर्साका सांसदले वीरगंज राजधानी नभए पश्चिमको तीन जिल्लालाई बागमती प्रदेशमा मिसाइने चेतावनी दिए ।

प्रदेश २ को सत्तारुढ दल जसपाकी सांसद करिमा बेगम, कांग्रेसका सांसद शंकर प्रसाद चौधरीसहितकाले यस्तो चेतावनी दिए । वीरगंजलाई राजधानी बनाउने सवालमा बारा र पर्साका अधिकांश सांसद र रौतहटका केही सांसद एकमत झैं देखिएका छन् । बाँकी जिल्लाका सांसदले सबैलाई पायक पर्ने ठाउँ जनकपुरधाम भएकाले यसैलाई राजधानी बनाउनुपर्नेमा जोड दिए ।

प्रदेशको नामाकरण र राजधानीको बिषयमा आईतबारदेखि शुरु भएको छलफल सोमबार पनि जारी रहने प्रदेश सभा सचिवालयले जनाएको छ । सोमबार बिहान ११ बजेदेखि पुनः बैठक आह्वान गरिएको छ । सोमबार छलफल सकिएपछि मतदान प्रकृयामा लैजाने तयारी प्रदेश सभाले गरेको छ ।

पुग्दैन कसैलाई दुई तिहाइ

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।

राजधानीका लागि जनकपुरधाम र वीरगंजको प्रस्ताव दर्ता भएको छ ।

दलहरुले आफ्नो अडान राख्दा पनि कसैसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

मधेश प्रस्ताव दर्ता गराउने जसपाका ३९, लोसपाको १६ र माओवादीका ८ गरी ६३ सांसद पुग्छन् । यसमा एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादीले पनि समर्थन गरेका छन् । तर नाम पारित गराउन दुई तिहाई बहुमत अर्थात् ७० सांसद चाहिन्छ । जो कसैसँग पनि छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!