जनकपुरधामको रामजानकी अस्पतालमा बिरामीले पटक–पटक अनाहकमा ज्यान गुमाउँदै आएका छन् । सो अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बुधबार पुनः एक बिरामीको ज्यान गएको छ ।

हात भाँचिएर अप्रेसन गराउन आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको हातको अप्रेसन भएपश्चात् ज्यान गएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

गत माघ ८ गते शनिबार भैँसीले हानेर हात भाँचिएकीको कामतलाई थप उपचारका लागि जनकपुरधामस्थित रामजानकी अस्पतालमा ल्याइएको थियो ।

मंगलबार अस्पताल पुगेकी कामतको सोही अस्पतालमा कार्यरत डाक्टर सञ्जय साहले बुधबार साँझ साढे ५ बजे अप्रेसन गरेका थिए ।

अप्रेसनपछि कामतको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ३ घण्टा बित्न नपाउँदै आफ्नो आमाको मृत्यु भएको मृतकका छोरा रामसकल कामतले बताए ।

यता, अस्पताल प्रशासनले भने मुटुको चाल कम हुँदा कामतको मृत्युको भएको दाबी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरेका छन् ।

यता, मृतकका छोरा रामसकल कामतले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमाको मृत्यु भएको दाबी गरेका छन् ।

पछिल्लो समय यस अस्पतालमाथि उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको, गत वर्ष कोरोनाकालमा कम मूल्यका औषधि बढी मूल्यमा बेचेकोलगायत विभिन्न आरोप लाग्दै आएका छन् ।

उपचारका क्रममा रामजानकी अस्पतालमा बिरामीको ज्यानै जाने यस्ता खालका घटना विगतदेखि नै पटक–पटक दोहोरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!