क्लोथ बैंक नेपाल कोरोना महामारीमा कस्तो भूमिका निर्वाह गर्दैछ ?
सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ यो क्लोथ बैंक नेपाल स्थापना भएको हो । नयाँ लुगा संकलन गरेर विपन्न, असहायहरुलाई वितरण गर्ने उद्देश्यका साथ हामीले क्लोथ बैंकको सुरुवात गरेका थियौं । त्यसपछि आफ्नो कार्य क्षेत्रलाई विस्तार गर्दै नेपालमा आइपरेको आपत–विपत् अथवा दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आफ्नो दायरा बढाउँदै गयौं । गत वर्षदेखि नेपालमा कोरोना महामारी सुरु हुँदा क्लोथ बैंकले चिकित्सकहरुको एउटा टिम बनाएर होम आइसोलेसनमा बस्नेहरुलाई निःशुल्क चिकित्सकीय सल्लाह, सुरक्षा सामग्रीहरु र निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।हामीले अक्सिजन बैंकको पनि स्थापना ग¥यौं, निःशुल्क उपलब्ध गराउँदै आएका छौं ।
तीव्रगतिमा कोरोना फैलिरहँदा कसरी सेवा दिइरहनुभएको छ ?
क्लोथ बैंकले निःशुल्क चिकित्सकीय परामर्श, औषधि लगायतका सामग्रीहरु वितरण गरिरहेको छ । हामीले गर्ने गरेको कामहरुबारे जनस्तरसम्म सूचना गइसकेको छ । हामीले दिनहुँ यस्ता सेवाहरु विस्तार गर्दै गएका छौं । हामीले गाउँसम्म नै चिकित्सक र स्वास्थ्य सामग्री पठाउँदै आएका छौं । हामी यो सम्वाद गरिरहँदा पनि एक जना दलित समुदायका वडाअध्यक्षको अवस्था गम्भीर हुँदा स्वास्थ्य सामग्रीसहित चिकित्सक पठाएका छौं । तर हामीसँग सीमित साधनस्रोत छन् । यो सीमित साधनस्रोतबाट नै उपचारबाट वञ्चित असहाय तथा विपन्नहरुको सेवा गरिरहेका छौं । होम आइसोलेसनको अवधारणा हाम्रो क्लोथ बैंक नेपालले नै ल्याएको हो । यस्तै अक्सिजन बैंक स्थापना गर्ने अवधारणा पनि सुरुमा हामीले नै ल्यायौं र त्यो अहिले विभिन्न ठाउँहरुमा भइरहेका छन् । यस्ता कार्यहरुमा राज्यले अग्रसरता लिनुपर्छ । किनभने राज्यसँग धेरै साधनस्रोतहरु हुन्छ ।
यदि राज्यले अग्रसरता लियो भने कोरोनाका कारण औषधि उपचार नपाएर एउटा पनि विरामीको ज्यान जाँदैन । इमान्दारीका साथ सक्रिय भएर यो महामारीसँग लड्ने प्रयास राज्यबाट नै भयो भने हामी नियन्त्रण गर्न सक्छौं ।
मुलुकमा अहिले तीन तहको सरकार छ, कस्तो भूमिका पाउनुहुन्छ ?
मुलुकमा तीन तहको सरकार हुँदा पनि महामारीमा सन्तोषजनक उपस्थिति छैन । स्वास्थ्य, शिक्षा र रोजगारको जिम्मा राज्यको हुन्छ । यहाँको स्वास्थ्य क्षेत्रको यस्तो भयावह अवस्था छ कि मान्छे विरामी पर्दा अस्पताल जान पनि डराउँछन् । कतिपय सर्वसाधारणसँग उपचारका लागि पैसा पनि हुँदैन । यस्तो अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बहन नगर्नु दुःख हो । तीनै तहको सरकार महामारी रोकथाम तथा नियन्त्रणमा पूर्णरुपमा असफल साबित हुँदैछन् ।
यस्तो महामारीका बेला पनि जनता राज्यविहीनताको अवस्थामा छन् त ?
राज्यलाई जनतासँग कर लिनुबाहेक अन्य कुराको मतलब छैन । यस्तो बेला पनि भ्रष्टाचार चरम सीमामा पुगेको छ । विश्वमै सबभन्दा बढी भ्रष्टाचार नेपालमा भइरहेको छ । कतिपय जनप्रतिनिधिहरु कमिशनको खेलमा लागेका छन् । यो कुरा राज्यकै निकायबाट सार्वजनिक भएको छ । अस्ति भर्खरै स्वास्थ्य मन्त्रालयले भन्यो कि कमिशन नदिँदा खोप ल्याउन सकिएको छैन । राज्यले आफ्नो जिम्मेवारी बहन नगरेर जनतालाई आफ्नै नियतिमा छोडिदिएको छ । जनता अहिले भगवान भरोसे बाँचिरहेका छन् । बिना कमिशन सामान्य प्रयास पनि भइरहेको देखिँदैन ।
दिनप्रति दिन कोरोना बढ्दैछ, लकडाउन पनि जारी नै छ । तैपनि कोरोनाको चेनब्रेक किन भइरहेको छैन ?
विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन नहुँदा कोरोनाको चेनब्रेक भइरहेको छैन । मान्छेबाट मान्छेमा तीव्रगतिमा सर्ने रोग हो । यसको चेनब्रेक गर्ने एउटा माध्यम हो लकडाउन । मान्छेहरुले कडाइका साथ यसलाई पालना नगरिदिँदा यस्तो भयावह अवस्था हुँदैछ । स्वास्थ्य क्षेत्रमा राज्यको प्रभावकारी उपस्थिति पनि नदेखिएको हो । राज्यका संयन्त्रहरु चुस्तदुरुस्त हुनुपर्छ । यो कोरोना महामारीसँग लडिरहेका सम्पूर्ण स्वास्थ्य क्षेत्रका योद्धाहरुलाई राज्यले प्रोत्साहन र सम्मान गर्नुपर्छ । यस्तो अवस्थामा पनि राज्यबाट नै स्वास्थ्य क्षेत्रमा क्रियाशीलहरु हतोत्साहित भइरहेका छन् । स्वास्थ्य क्षेत्रका योद्धाहरुलाई हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । अस्पतालका चिकित्सक तथा कर्मचारीहरुमाथि हातपात जस्ता कार्यहरु भइरहेका छन् । यस्ता कार्यहरुको नियन्त्रण हुनुपर्छ ।
क्लोथ बैंकको स्रोत के हो ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हामीले निःशुल्करुपमा गर्दै आएको सामाजिक कार्यमा कुनै पनि तहको सरकारबाट सहयोग पाएका छैनौं । बरु हामीले प्रदेश २ को सरकारलाई पत्र लेखेर मास्क, सेनिटाइजर र अक्सिमिटर माग गर्दा पनि कुनै सहयोग पाएनौं । हाम्रो स्रोत भनेको संस्थाका सदस्य, शुभचिन्तक, जनकपुरधामका मनकारी व्यक्तिहरु, संघसंस्थाहरु छन् । हामीलाई धेरै पैसाको आवश्यकता पनि छैन । हामीलाई एमआए संस्थाले अलिकति औषधि उपलब्ध गराइदियो । यहाँका जनता, व्यवसायी र शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छौं । उनीहरुको सहयोगमा हामीले असहाय तथा गरीब जनताहरुलाई सेवा गर्न पाएका छौं । हाम्रो संस्थाका सदस्यहरु आफ्नो पैसा लगाएर, ज्यान जोखिममा राखेर दिनरात एक गरेर काम गरिरहेका छन् ।
क्लोथ बैंकलाई अन्य के–के सहयोग भइदिए राम्रो हुन्थ्यो ?
सीमित स्रोतसाधनबाट हामी आफ्नो स्तरबाट गरिरहेकै छौं । हामीसँग प्रविधि र चिकित्सकहरुको टोली पनि छ, राज्यले हामीसँग समन्वय र सहकार्य गरेर गर्न सकियो भने अझ प्रभावकारी ढंगले बढीभन्दा बढी सर्वसाधारणसम्म सेवा सुविधा पु¥याउन सकिन्छ । हामीले प्रदेश २ का मुख्यमन्त्री समक्ष प्रस्ताव राखेका थियौं, उहाँले आश्वासन पनि दिनुभएको थियो तर काम अगाडि बढेन । केन्द्र सरकारको प्रतिनिधि सिडियो साहेब हुनुहुन्छ, उहाँको सहयोग पाएकै छौं ।
प्रदेश २ सरकारको भूमिका कस्तो छ त ?
कुनै पनि प्रदेश सरकारले प्रभावकारीरुपमा आफ्नो उपस्थिति देखाउन सकेको छैन । समग्रमा तीनवटै सरकारको भूमिका प्रभावकारी छैन । त्यसबाट जनता सन्तुष्ट हुने अवस्था छैन ।
क्लोथ बैंकको तर्फबाट के आह्वान गर्न चाहनुहुन्छ ?
कुनै पनि आपत–विपत्का बेला क्लोथ बैंक सदैव पीडितको साथ हुन्छ र सबै साथ पनि हामीलाई चाहिएको छ । कतिपयले हाम्रो यस संस्थाप्रति भ्रम छर्ने काम पनि गरिरहेका छन्, त्यो भ्रममा नपर्न आग्रह गर्दछु । हामी पीडितहरुको साथमा छौं । यो संस्था प्रचारबाजी गरेर वा कुरा मात्रै गरेर जनतामाझ लोकप्रिय भएको छैन । हामी काम गरेर देखाइरहेका छौं । सभार ः मधेशवाणी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!